बैतडी, २२ माघ / बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका– ७ बढ्गाउँ मोडमा दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा १५ जना घाइते भएको बुझिएको छ ।
पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।
‘दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ भने पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको छ । स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।
बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । अहिले उद्धारको काम चलिरहेको छ ।
दुर्घटनाबारे पूर्ण विवरण भने आउन बाँकी छ ।