धनगढी, २१ माघ / सुदूरपश्चिम प्रदेशमा साहित्यिक कृतिलाई नजिकबाट अनुभूत गर्ने अवसरसहित पहिलो पटक नाट्य प्रस्तुति आयोजना हुने भएको छ। हृदयचन्द्रसिंह प्रधानको चर्चित कृति ‘एक चिहान’ मा आधारित नाटक आगामी माघ २३, २४ र २५ गते धनगढीस्थित वैभव (वेभन) प्यालेस एण्ड रिसोर्ट, तारानगर मा मञ्चन हुने भएको हो।
विद्यार्थी र साहित्यप्रेमीका लागि पाठ्यपुस्तकमा सीमित कथालाई जीवन्त रूपमा अनुभूति गराउने उद्देश्यले नाटक तयार गरिएको आयोजकले जनाएको छ। उपन्यासमा रहेका पात्र, द्वन्द्व र संवेदनालाई रंगमञ्चमार्फत प्रस्तुत गरी साहित्यलाई बुझ्ने नयाँ तरिका दिनु नै यस नाट्य प्रस्तुतिको मुख्य लक्ष्य रहेको बताइएको छ।
उपन्यासलाई नाटकमा रूपान्तरण गर्ने कार्य बाजुराका १७ वर्षीय सुनिल बुढा ‘कछुवा’ ले गरेका हुन्। १५ वर्षको उमेरमै ‘सहर जाने बाटो’ खण्डकाव्य लेखेर चिनिएका सुनिल हाल धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन्। आयोजकका अनुसार, पाठ्यपुस्तकमा सीमित कथा र पात्रलाई रंगमञ्चमा उतारेर दर्शकका लागि अझ स्पष्ट, संवेदनशील र प्रभावशाली बनाउने प्रयास गरिएको छ।
‘गाउँले प्रोडक्सन’ को आयोजनामा हुने यस नाटकले कथाभित्र लुकेको पीडा, प्रश्न, सामाजिक द्वन्द्व र मानवीय संवेदनालाई प्रत्यक्ष दर्शकसामु उजागर गर्ने अपेक्षा गरिएको छ। विशेषगरी कक्षा १२ का विद्यार्थीका लागि यो प्रस्तुति साहित्य अध्ययन गर्ने वैकल्पिक र प्रभावकारी माध्यम बन्ने विश्वास लिइएको छ। नाटकमार्फत विद्यार्थीले कथालाई मात्र होइन, पात्रको मनोविज्ञान, समाजसँगको द्वन्द्व र भावनात्मक यात्रालाई प्रत्यक्ष अनुभूति गर्न पाउनेछन्।
आयोजकका अनुसार सुदूरपश्चिम प्रदेशमा यस प्रकारको नाट्य प्रस्तुति पहिलो पटक हुन लागेको हो। कार्यक्रममा विद्यालयका प्राचार्य, नेपाली विषयका शिक्षक तथा साहित्यप्रेमीहरूलाई विशेष रूपमा आमन्त्रण गरिएको छ। यसले विद्यार्थीमा साहित्यप्रतिको रुचि बढाउनुका साथै आलोचनात्मक सोच र विश्लेषणात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
माघ २३, २४ र २५ गते मञ्चन हुने यो नाटक सुदूरपश्चिमका विद्यार्थी र आमसाधारणका लागि कथालाई पढेर मात्र होइन, प्रत्यक्ष रूपमा अनुभूति गर्ने सुनौलो अवसर बन्ने विश्वास गरिएको छ।
टिकटको अग्रिम बुकिङ खुलिसकेको छ। जस्मा सर्वसाधारणको लागि २ सय , विद्यार्थी, अपाङ्ग र वृद्ध १५० तोकिएको छ ।
सम्पर्क: ९८५८४८७५०६, ९८२६९८९३८५
स्थान: वेभन प्यालेस एण्ड रिसोर्ट, तारानगर, धनगढी
