कैलाली , २१ माघ / कैलाली कञ्चनपुरबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका – ९ बाङग्राकटानबाट २१० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित कैलारी गाउँपालिका – ९ का २३ वर्षीय उदिप राना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै बर्दगोरीया गाउँपालिका – ४ मुडा बजारबाट ३३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित बर्दगोरीया – १ का १८ वर्षीय किशोर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका – १० जर्सिखल्लाबाट ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित बेलौरी – ९ रतनपुरका २३ वर्षीय उमेश कुमार भट्ट पक्राउ परेका छन् । भारतबाट नेपाल तर्फ शङ्कास्पद रूपमा पैदल आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।