धनगढी, १४ माघ / ऐश्वर्य बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अध्यक्ष दिपक भट्टलाई नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालन सह–संयोजकको जिम्मेवारी दिइएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी तथा युवालाई संगठित गरी कांग्रेसको चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित भट्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै क्याम्पसस्तरमा संगठन निर्माणमा योगदान पुर्याउँदै आएका भट्टबाट चुनावी परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कांग्रेस कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार आनन्दबहादुर बिष्ट रहेका छन्।
नव जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै भट्टले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यार्थी र युवालाई एकताबद्ध गर्दै कांग्रेसको पक्षमा वातावरण निर्माण गर्न सक्रिय रूपमा लाग्ने बताए।
नेविसंघ परिचालन समितिले स्ववियू अध्यक्ष भट्टको अनुभव, सक्रियता र नेतृत्व क्षमताले क्षेत्र नम्बर–४ मा कांग्रेसको चुनावी अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।