धनगढी, १३ माघ / कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्र्रेसबाट उम्मेदवार बनेका गोरखबहादुर बिष्ट ‘आनन्द’लाई जिताउन यहाँका युवाहरु संगठित बनेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले सोमबार आयोजना गरेको युवा भेलामा उम्मेदवार आनन्दलाई जिताउन युवाहरु संगठित भएका हुन् ।
भेलाले क्षेत्र नम्बर ४ मा युवा परिचालन तथा प्रचार प्रसारका लागि तरुण दलको कमाण्डमा तरुण नेता शिवराज भट्टराई र युवा परिचालनमा युवा नेता कमल कडायत र नेपाल विद्यार्थी संघको नेता दिनेश पाठकको नेतृत्वमा नेविसंघ परिचान समिति गठन गरेको हो ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति वसन्त रोकाया ‘ललित’ को संयोजकत्वमा गठित क्षेत्रीय मूल निर्वाचन समिति अन्तर्गत तरुण, युवा तथा नेविसंघ परिचालन गर्न उपसमिति गठन गरिएको हो । यस्तै कांग्रेसबाट उम्मेदवार रहेका आनन्दलाई जिताउन महिला संघ, दलित संघ, किसान संघ परिचालनका लागि पनि उपसमिति गठन गरिएको उनले बताए । उनले भने,‘कांग्रेसबाट उम्मेदवार बनेका आनन्दलाई जिताउन युवाहरु उत्साहित भएरै आएका छन्, उनीहरुकै संयोजकत्वमा हामीले समिति पनि गठन गरेका छौँ ।’ युवाहरु सोमबारदेखि नै फिल्डमा खटिएको उनले बताए ।
‘गाउँगाउँमा चुनावी माहोल बनाउन र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका आनन्दको पक्षमा मतदान गराउन युवाहरु परिचालन भइसकेका छन्,’ उनले भने,‘युवाहरु स्वतः स्फूर्तरुपमा चुनावी माहोल बनाउन आएका छन् ।’
कांग्रेसका पक्षमा जनलहर बनाउन र चुनावी माहोल तताउन युवाहरु स्वतःस्फूर्तरुपमा आइरहेको देख्दा आफू पनि हर्षित बनेको बताउँदै उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले भने,‘अहिलेको निर्वाचन अन्य समयको भन्दा फरक छ, युग सुहाउँदो विकास र युवाहरुको इच्छा, चाहना अनुसार हामीले पनि चल्न सक्नुपर्छ ।’ युग र युवा सुहाउँदो विकास र प्रविधिसँग अभ्यस्त भएरै कांग्रेस पनि अगाडि बढिरहेको उनले बताए ।
‘हामी अहिलेको युग सुहाउँदो विकासका लागि अगाडि बढेका छौँ,’ उनले युवाहरुलाई सम्बोधन गर्दै भने,‘अहिले युवाको इच्छा र आकांक्षा अनुरुप हामी काम गर्न सक्छौ, त्यही भएर हामी युवामाझ मत माग्न आएका छौँ ।’