धनगढी, ११ माघ / सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा बिहानदेखि मतदान प्रक्रिया अघि बढेको हो । सुदूरपश्चिम प्रदेशकामा कांग्रेसबाट खम्मबहादुर खाती तथा एमालेबाट लीलाकुमारी भण्डारी तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट टीकाराम जैसी र रोजी बस्नेत सुनारको उम्मेदवारी छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार अहिलेसम्म ३८ मत खसेको छ ।
सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेशसभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् । यहाँ राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने उनीहरूविरुद्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि उम्मेदवारी दिएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरप्रमुख र उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता गर्न पाउँछन् । प्रदेशसभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको मात्रै मतभार दुई हजार ६०७ छ ।
दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी छ । एक प्रदेशसभा निलम्बनमा रहेका कारण उसको मतभार एक हजार ८१६ छ । एमालेको एक हजार ५३३ मतभार रहेको छ । यस्तै राप्रपाको ५३ तथा स्वतन्त्रको ३८ मतभार रहेको छ ।
मतदानको सुरुआत एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेर गरेका छन् । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका १७३ जना र प्रदेश सभाका ५१ जना सांसद गरी कुल २२४ जना मतदाता रहेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान भइरहेको छ । मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।