धनगढी, १० माघ / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कैलाली जिल्लाको दुई दिवसीय आवासीय अभ्यास वर्ग धनगढी १६ रामपुर बेहडाबाबा धर्मशालामा सम्पन्न भएको छ। माघ ९ गते सुरु भएको अभ्यासवर्ग परिषद्का विभिन्न गतिविधिबारे छलफल र अभ्यास गर्दै आज समापन गरिएको हो ।
कैलाली जिल्ला भरिका विद्यार्थी परिषद्का नगर र क्याम्पस इकाईमा दायित्व भएका विद्यार्थीहरूको सहभागितामा उक्त अभ्यासवर्ग सञ्चालन गरिएको धनगढी नगर इकाइका सचिव लेखराज भट्टले बताए। विद्यार्थी परिषद्ले गर्ने विभिन्न सांगठनिक गतिविधि सँगै विद्यार्थी परिषद्मा आबद्ध विद्यार्थीहरूले समाज र राष्ट्रका लागि के गर्न सक्छन् भन्ने विषयमा पनि विद्यार्थीहरूका बीच छलफल गरिएको थियो।
उक्त अभ्यास वर्गमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव रमेश कँडेल , विद्यार्थी परिषद्का पूर्व कार्यकर्ता एवं प्राध्यापक डा दीर्घराज जोशी, पूर्व कार्यकर्ता एवं अधिवक्ता सरस्वती भट्ट, राष्ट्रिय सचिव प्रेम बोहरा एवं राष्ट्रिय र प्रदेश स्तरका कार्यकर्तासँगै नगर र क्याम्पसमा दायित्व भएका विद्यार्थीहरूको सहभागिता रहेको राष्ट्रिय सचिव प्रेम बोहरा बताए।
प्राज्ञिक विद्यार्थी परिषद्ले बेला बेलामा विद्यार्थी परिषद्मा आबद्ध विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि नगर, जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
विद्यार्थी परिषद्को कैलाली जिल्ला अभ्यास वर्गबाट कैलाली जिल्ला संयोजकको जिम्मेवारी नविन रिठामेलीलाई र जिल्ला मिडिया कार्यप्रमुखको जिम्मेवारी सञ्चारकर्मी गिरिजा प्रसाद पनेरुलाई दिइएको छ।