धनगढी, ७ माघ / कञ्चनपुर जिल्ला शुक्लाफाटा नगरपालिका-१२ कालागौडी कुण्डा टोलमा रहेको घटाल युवा क्लबले सडक चोक तथा अन्य आवश्यक स्थानहरूमा सडक बत्ती जडान गर्न वडा कार्यालयमा औपचारिक निवेदन पेश गरेको छ।
राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्र जंगली जनावर, विशेषगरी हात्तीको उच्च जोखिममा रहेकाले रातिको समयमा आवतजावत गर्न कठिनाइ हुने, हिंसा तथा दुर्घटनाको सम्भावना बढ्ने क्लबले जनाएको छ। यही जोखिमलाई मध्यनजर गर्दै क्लबले बढी जोखिमयुक्त चोक र सडकमा तत्काल बत्ती जडानको माग गरेको हो।
घटाल युवा क्लबका अध्यक्ष कवीर पन्तका अनुसार नागरिकको सुरक्षा र सहज आवतजावत सुनिश्चित गर्न ढिलाइ नगरी आवश्यक कदम चालिनु अपरिहार्य भइसकेको छ। “रातिको समयमा सर्वसाधारणको आवतजावत जोखिमपूर्ण बन्दै गएको छ, बत्ती जडानले ठूलो राहत दिन्छ,” उहाँले भन्नुभयो।
यस विषयमा वडा अध्यक्ष नवलसिंह रानाले चोकहरूमा जडान गर्नका लागि आवश्यक बत्तीहरू पहिल्यै उपलब्ध गराइसकिएको जानकारी दिनुभयो। उहाँका अनुसार जन्जी आन्दोलनका क्रममा ती बत्तीहरू चोरी भएका कारण जडानमा ढिलाइ हुन गएको हो। वडा अध्यक्ष रानाले चालु महिनाभित्रै आवश्यक स्थानहरूमा सडक बत्ती जडान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीयवासीले समेत बत्ती जडान भएपछि रातिको समयमा हुने जोखिम कम हुने विश्वास व्यक्त गरेका छन्।