धनगढी, ७ माघ / धनगढी उपमहानगरपालिका – २ मा अवस्थित स्टेपिङ इङ्लिस स्कुलले समय सापेक्ष र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको छ। विगत ३४ वर्षदेखि निरन्तर पठनपाठन गर्दै आएको उक्त विद्यालयले पछिल्लो समय स्मार्ट कक्षाकोठा र आधुनिक शिक्षण विधिमार्फत विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदै आएको विद्यालयले जनाएको छ।
विद्यालयका संस्थापक तथा प्रधानाध्यापक रामजी हमालले हालको प्रतिस्पर्धात्मक युगलाई मध्यनजर गर्दै विद्यालयले उच्च प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताए । “विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, प्रविधिमैत्री र विश्वस्तरीय शिक्षा दिनु हाम्रो लक्ष्य हो,” उनले भने।
उनका अनुसार विद्यालयमा विदेशी मुलुकहरूमा प्रयोग हुँदै आएका कक्षाकोठा व्यवस्थापन र अध्यापन विधिहरूलाई आत्मसात गरिएको छ। यसले विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणालीसँग परिचित गराउने विश्वास विद्यालयले लिएको बताए।
संस्थापक हमालले विद्यालयले विद्यार्थी सङ्ख्याभन्दा शिक्षकको गुणस्तरलाई प्राथमिकता दिँदै आएको स्पष्ट पारे। “हामी संख्यामा होइन, गुणस्तरमा विश्वास गर्छौं। दक्ष, अनुभवी र उत्तरदायी शिक्षकमार्फत नै असल विद्यार्थी उत्पादन सम्भव हुन्छ,” उनले भने।
स्थापनाकालदेखि नै अनुशासन, नैतिक शिक्षा र शैक्षिक उत्कृष्टतालाई केन्द्रमा राख्दै आएको स्टेपिङ इङ्लिस स्कुलले धनगढी क्षेत्रमै छुट्टै पहिचान बनाउँदै आएको छ। अभिभावक र विद्यार्थीको विश्वासलाई आधार मानेर विद्यालयले आगामी दिनमा थप आधुनिक र नविन शिक्षण अभ्यासलाई विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
विद्यालयले माघ ११ गते ३४ औँ वार्षिक उत्सवको अवसरमा सम्पूर्ण शिक्षक प्रेमीलाई सहभागिताको लागि अपिल समेत गरेको छ।