धनगढी , ३ माघ / जिल्ला प्रहरी कार्यालय कैलालीले एक महिनाको अवधिमै ठूलो परिमाणमा लागू औषध बरामद गर्न सफल भएको छ। प्रहरीका अनुसार पुस महिनाभर जिल्लाका विभिन्न स्थानबाट ९ किलो ८२४ ग्राम ७१० मिलिग्राम चरेस र ८२ ग्राम ६९९ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो।
लागू औषध नियन्त्रणका क्रममा ४२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २ महिला र ४० पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंह ले लागू औषध कारोवार विरुद्ध निगरानी कडा बनाइएको जानकारी दिए।
प्रहरीका अनुसार पुस महिनामा जिल्लाभर १२४ वटा विभिन्न प्रकृतिका अपराध मुद्दा दर्ता भएका छन्। तीमध्ये
ज्यान सम्बन्धी १०,
आत्महत्या सम्बन्धी १३,
चोरी सम्बन्धी १,
संगठित तथा आर्थिक अपराध ६२,
सामाजिक अपराध १४,
महिला तथा बालबालिका सम्बन्धी ७,
सवारी ज्यान सम्बन्धी १४
र अन्य ४ मुद्दा रहेका छन्।
दर्ता भएका आर्थिक अपराधमध्ये मात्रै बैङ्किङ कसुरका २६ मुद्दा परेका छन्, जसले जिल्लामा आर्थिक अपराधको चुनौती बढ्दो रहेको संकेत गर्छ।
प्रहरीका अनुसार दर्ता मुद्दामध्ये ८४ जना पक्राउ परिसकेका छन् भने ३४ जना फरार रहेका छन्। फरार अभियुक्तको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।
प्रहरीले लागू औषध, आर्थिक अपराध तथा सामाजिक अपराध नियन्त्रणका लागि सूचना संकलन, निगरानी र कारबाही अझ प्रभावकारी बनाइने जनाएको छ।
