धनगढी , १ माघ / आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।
माघे संक्रान्तिको अवसरमा आज गोदावरी धाममा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । माघे संक्रान्तिका अवसरमा गोदावरी धाममा स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ । जसका लागि गोदावरी धाममा स्नान कुण्ड निर्माण गरिएको छ भने वरपर सजाउने काम पनि गरिएको छ ।
गोदावरीको प्राचीन शिव मन्दिरका महन्त तुल्छि गिरीले परम्परा देखि चल्दै आएको माघे संक्रान्ति मेला यस पर्व पनि सञ्चालन भइरहेको बताए । उनले माघे संक्रान्तिका अवसरमा गङ्गा आरती, कृतन भजन, झाकी लगायतका क्रियाकलाप हुने बताए ।
उनले माघे संक्रान्तिका अवसरमा स्नान गर्नेहरूको सहजताका लागि गोदावरी नगरपालिकाको डोजरले स्नान कुण्ड निर्माण गरेको बताए । उनले मेलाका लागि गोदावरी धाममा सरसफाइ गरेर झकिझकाउ बनाइएको बताए । ‘विगतको तुलनामा यो वर्ष उल्लेख्य सहभागिता हुने अनुमान गरेका छौ’ उनले भने ‘माघे संक्रान्ति मेलाका लागि भारतबाट पनि भक्तजनहरू पुगेका छन् ।’ उनले माघे संक्रान्तिको अवसरमा तीन दिन सम्म श्री पञ्चमी सम्म विविध कार्यक्रम गरिने बताए ।
गोदावरीमा विगत १० वर्ष देखि गोदावरी धाम विकास समितिले पनि मकर मेला आयोजना गर्दै आएको छ । २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेको समितिले ६ वर्षमा अर्ध कुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दै आएको छ । यस वर्षको बाह्र राशि दर्शन मकर मेलाको पनि बुधवार (पुस ३० गते) सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले उद्घाटन गरेका छन् ।
माघे संक्रान्ति मेलाका लागि निःशुल्क बसको व्यवस्था गरेको छ । गोदावरी नगरपालिकाले माघे संक्रान्ति मेलामा जाने श्रद्धालु भक्तजनहरूको सहजताका लागि निःशुल्क बसको व्यवस्था गरेको हो ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले मकर मेलाको पहिलो दिन माघ १ गते निःशुल्क ४ वटा बसको व्यवस्था गरिएको बताए । बस सेवा अत्तरिया चोक देखि गोदावरी धाम सम्म सञ्चालन गरिने जनाइएको छ ।
माघे संक्रान्तिको पहिलो दिन गोदावरीमा जाने भक्तजनहरूको भीड लाग्ने गर्दछ । गत वर्ष पनि नगरपालिकाले माघे संक्रान्ति मेलाको पहिलो दिन बसहरूको व्यवस्था गरेको थियो ।