धनगढी, २९ पुस / मानवसेवा आश्रम शाखा कार्यालय कैलालीले आर्थिक वर्ष २०८१/०८२ को आय-व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। मंगलबार आयोजित सामाजिक लेखा परीक्षण कार्यक्रममार्फत आश्रमको आर्थिक गतिविधिबारे जानकारी सार्वजनिक गरेको हो ।
कार्यक्रममा मानवसेवा आश्रम कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा आश्रमले ८२ लाख १० हजार ५ सय ९९ रुपैयाँ पुँजीगत आम्दानी गरेको र ५२ लाख ४० हजार ९ सय रुपैयाँ पुँजीगत खर्च भएको जानकारी गराएका थिए।
सामाजिक उत्तरदायित्व र पारदर्शितालाई प्राथमिकतामा राख्दै आश्रमले नियमित रूपमा सामाजिक लेखा परीक्षण गर्दै आएको संयोजक शाहले बताए। मानवताको सेवामा समर्पित संस्थाले असहाय, बेसहारा तथा सडक मानवको संरक्षण र पुनःस्थापनामा उल्लेखनीय भूमिका खेल्दै आएको उनको भनाइ थियो।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख टिका कुमारी चौधरी, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना, वडा नं. ५ का अध्यक्ष गजेन्द्र शाहीलगायत मानवसेवा आश्रमका अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
उपस्थित वक्ताहरूले मानवसेवा आश्रमले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।