धनगढी, २९ पुस / कैलालीको धनगढीको एक होटलबाट साढे ५ किलो चरेस सहित एक जना पक्राउ परेका छन् ।
सोमबार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीको धनगढी उपमहानगरपालिका -४ मा रहेको चितवन होटेलबाट चरेस सहित बझाङको सुर्मा गाउँपालिका – २ का ५० वर्षीय जलहरी बोहरा पक्राउ परेका हुन ।
वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनको साथबाट ५ किलो ५७६ ग्राम लागू औषध चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।