धनगढी, २८ पुस / धनगढी २ स्थित शारदा माध्यमिक विद्यालयमा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान सुनिश्चित गर्ने उद्देश्यसहित आज ९ वटा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएका छन्। विद्यालयले आयोजना गरेको अभिभावक भेला २०८२ को अवसर पारेर विभिन्न व्यक्तित्वहरूले अक्षयकोष स्थापना गरेका हुन्।
स्थापना भएका अक्षय कोषहरूमा सुवास शाहीद्वारा स्थापना गरिएको ‘एसपीए कृतिगंगा प्रतिभा छात्रवृत्ति अक्षयकोष’ ५ लाख १ हजार रकमको रहेको छ। चक्र बहादुर सिंहद्वारा ‘चक्र लक्ष्मी सिंह प्रतिभा छात्रवृत्ति अक्षयकोष’, ५ लाख १ हजार बराबरको नै रहेको छ।
दीपक बहादुर सिंहद्वारा ‘रामराजमती सिंह स्मृति छात्रवृत्ति अक्षयकोष’, १ लाख ७१ हजार ५ सय बराबरको छ भने सूर्यप्रसाद जोशीद्वारा ‘मुकुन्दराम जोशी स्मृति छात्रवृत्ति अक्षयकोष’, १ लाख ५१ हजार , यस्तै डा. सुरेश पन्तद्वारा ‘मेघ लक्ष्मी पन्त प्रतिभा छात्रवृत्ति अक्षयकोष’, पनि १ लाख ५१ हजार बराबरको रहेको छ ।
सरिता थापाद्वारा ‘सरिता थापा प्रतिभा छात्रवृत्ति अक्षयकोष’, १ लाख १ हजार १ सय ११ , जनकराज जोशीद्वारा ‘राम शारदा जोशी स्मृति छात्रवृत्ति अक्षयकोष’, १ लाख १ हजार , मान बहादुर चौधरीद्वारा ‘भागीराम ज्यूरानी प्रतिभा छात्रवृत्ति अक्षयकोष’ ५१ हजार बराबरको र स्वयं विद्यालयले समेत ‘विरु चौधरी स्मृति छात्रवृत्ति अक्षयकोष’ ५ हजार रकम बराबरको स्थापना गरेको छ ।
सबै अक्षयकोषको कुल रकम १७ लाख ३३ हजार ६ सय रहेको विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंह बताए ।
प्रधानाध्यापक सिंहका अनुसार ‘अक्षयकोषमार्फत प्रत्येक वर्ष आर्थिक अवस्था कमजोर, जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति उपलब्ध गराइने छ ।
अक्षयकोषको मूलधन सुरक्षित राखी ब्याजबाट मात्र छात्रवृत्ति वितरण गरिने व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ।