धनगढी, २७ पुस / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस दीप प्रज्ज्वलन र दिव्योपदेश वाचन कार्यक्रम गरी मनाएको छ। धनगढीस्थित पृथ्वीनारायण चोकमा आयोजित कार्यक्रममा पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै दीप प्रज्ज्वलन गरिएको थियो भने उनका दिव्योपदेशहरूको वाचनमार्फत राष्ट्रिय एकता, स्वाधीनता र राष्ट्रप्रतिको कर्तव्यबोधलाई उजागर गरिएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइका नगर सचिव लेखराज भट्टले पृथ्वीनारायण शाहका दिव्योपदेशहरू आज पनि राष्ट्र निर्माण र राष्ट्रिय चेतनाका लागि मार्गदर्शक रहेको बताए। उनले युवा पुस्ताले राष्ट्रनिर्माताको विचार र योगदानलाई आत्मसात गर्दै देशप्रति जिम्मेवार बन्न आवश्यक रहेको उल्लेख गरे।
दीप प्रज्ज्वलन कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय, प्रदेश तथा धनगढी नगरमा दायित्व सम्हालेका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। साथै कार्यक्रममा विभिन्न युवाहरू र सामाजिक व्यक्तित्वहरूको समेत सहभागिता रहेको नगर सचिव भट्टले जानकारी दिए।
कार्यक्रमबाट राष्ट्रिय एकता, इतिहासप्रतिको सम्मान र युवा पुस्तामा राष्ट्रभावना जागृत गर्ने अपेक्षा गरिएको छ।
यस्तै विद्यार्थी परिषद्ले देशभर विभिन्न कार्यक्रम गर्दै पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाएको छ। कैलालीको अत्तरियामा पनि दीप प्रज्वलनका साथ पृथ्वी जयन्ती मनाइएको छ ।