धनगढी,२७ पुस / आइतबार सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरु पारीत भएका छन्। मन्त्रिपरिषद्को बैठकले साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
साउन २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो।
यस्तै, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको छ। प्रदेश सरकारले निर्माण गरेका कालोपत्रे सडकहरूको नियमित मर्मतसम्भारका लागि मर्मत समूहमार्फत सडक मर्मत कार्य गरिनेछ। प्रदेश सरकारले प्रत्येक वर्ष करिब २ सय किलोमिटर कालोपत्रे सडक निर्माण गर्दै आएको छ। यसरी नियमित मर्मत तथा सम्भार गर्दा सडकको आयु लामो हुने अपेक्षा प्रदेश सरकारले गरेको छ।
त्यसैगरी, बैठकले सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।