धनगढी, २३ पुस / राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले सयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस-एमालेबीच भएको सहमतिअनुसार अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती र महिला समूहबाट नेकपा एमालेकी लिला भण्डारी उम्मेदवार बनेका हुन्।
कांग्रेसका खातीले प्रदेश सभा सदस्य पदमबहादुर शाहीको प्रस्ताव र एमालेका चक्रबहादुर मल्लको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी एमालेकी भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकको प्रस्ताव तथा सन्तोष शर्मा थापाको समर्थनमा महिलातर्फ उम्मेदवारी दर्ता गराएकी छन्।
यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच प्रतिस्पर्धा थप चर्किँदै गएको छ।