धनगढी, २२ पुस / विज्ञान-प्रविधि, खेलकुद, कला-संस्कृति, सृजनशीलता र मनोरञ्जनको समन्वयमार्फत ज्ञानको जागरण, संस्कृतिको सम्मान र नवप्रवर्तनको प्रवाह फैलाउने उद्देश्यका साथ चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ आजदेखि धनगढीमा सुरु भएको छ। महोत्सवको औपचारिक उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्नु भएको छ।
महोत्सव पुस २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, वैज्ञानिक, सिर्जनशील र सांस्कृतिक प्रतिभा उजागर गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्। विज्ञान प्रदर्शनी, नवप्रवर्तनात्मक प्रस्तुति, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा सिर्जनात्मक गतिविधिहरू महोत्सवका मुख्य आकर्षण रहेका छ्न।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य धर्मराज पाठक र धनगढी उपमहानगरपालिकाका उप–प्रमुख कन्दकला राना विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यस्तै बिशिष्ट अथितिकै रुपमा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.लोक बहादुर बिष्ट समेत रहनु भएको थियो।
कार्यक्रम चैतन्य पाठशालाका पीटीए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सुरु भएको छ । समारोहमा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले हामी आविष्कार र नव पर्वतनको शिक्षालाई आलम्बन गर्दै अगाडि बढिरहेको उनले बताए।
विद्यार्थीहरूको बृहत्तर सिकाइका अवसर सृजना गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले पाठशालामा अध्ययनरत विद्यार्थीहरूलाई सीप, क्षमता र आत्मविश्वास बढाउने मञ्चका रुपमा स्थापित गरिएको छ।
पाठशालाले दोस्रो चैतन्य महोत्सवको अवसरमा विभिन्न सामाजिक क्षेत्रमा , सेवा क्षेत्रमा ,सुरक्षा क्षेत्रमा, शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ।