धनगढी, २० पुस / कैलालीमा चुरे क्षेत्रमा डिभिजन वन कार्यालय धनगढीले बढाइएको गस्ती र अनुगमनका क्रममा सामुदायिक वनकै पदाधिकारीको मिलेमतोमा भइरहेको अवैध वन फडानी र काठ तस्करी पाइएको छ ।
चुरे गाउँपालिका–२ खैरालास्थित त्रिवेणी र झरना सामुदायिक वनभित्र अवैध रूपमा काटिएका झण्डै २० वटा हरिया सालका रुख चिरान गरिएको अवस्थामा करिब ६ सय क्युफिट काठ बरामद गरिएको छ। वन कार्यालयका अनुसार झरना सामुदायिक वनबाट करिब २०० र त्रिवेणी सामुदायिक वनबाट ३१९ वटा कडी, फ्रेम र फन्टा बरामद गरिएको हो।
डिएफओ ठाकुरको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेपछि संलग्न सामुदायिक वनका केही पदाधिकारी फरार भएका छन्। वन कार्यालयका अनुसार अध्यक्षसहित केही पदाधिकारीको प्रत्यक्ष संलग्नतामा योजनाबद्ध रूपमा साल फडानी, काठ बिक्री र वन अतिक्रमण भइरहेको पाइएको छ।
अवैध फडानी र अतिक्रमणमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने डिभिजन वन कार्यालय धनगढीले जनाएको छ। वन कार्यालयले अन्य चुरे क्षेत्रहरूमा पनि गस्ती थप कडा बनाइएको जनाएको छ ।