धनगढी , २० पुस / शिक्षा र संस्कारको संगमलाई व्यवहारमा उतार्दै आएको चैतन्य पाठशालाले ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ आयोजना गर्ने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको औपचारिक जानकारी दिएको हो।
“ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह” भन्ने मूल भावसहित आयोजना हुने महोत्सव पौष २२ गतेदेखि पौष २९ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवले विद्यार्थीको अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोच र आत्मविश्वास विकास गर्ने लक्ष्य लिएको पाठशालाका प्रधानाध्यापक प्रेमनिधि ओझाले बताए ।
चैतन्य पाठशालाले वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिप्रतिको सम्मानलाई शैक्षिक अभ्याससँग जोड्दै आएको छ। यही दर्शनलाई व्यवहारिक रूप दिने उद्देश्यले आयोजना गर्न लागिएको यो महोत्सव शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा रचनात्मक गतिविधिले भरिपूर्ण रहने विद्यालयले जनाएको छ। कक्षाकोठाभन्दा बाहिरको जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव दिलाउने विश्वास आयोजकको छ।
महोत्सवका क्रममा विद्यार्थी प्रतिभा प्रस्तुतिका विविध कार्यक्रम हुनेछन्। विज्ञान, प्रविधि र अन्वेषणमा आधारित प्लेन उडान परीक्षण, ड्रोन उडान, नाटक मञ्चन र प्राज्ञिक बहसदेखि अन्तर–विद्यालय प्रतियोगितासम्म समावेश छन्। योग तथा ध्यान कार्यक्रम, रमाइला शैक्षिक खेल, सामुदायिक सेवा र रक्तदान कार्यक्रम, स्थानीय परिकार प्रदर्शनीले महोत्सवलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ।
कला, साहित्य र संस्कृतिलाई विशेष प्राथमिकता दिइने महोत्सवमा पुस्तक समीक्षा, कविता तथा कथा वाचन, चित्रकला र हस्तकला प्रतियोगिता, मौलिक सांस्कृतिक प्रस्तुति, माघी मिलन विशेष कार्यक्रम, विद्यार्थी बहस जस्ता कार्यक्रमहरू पनि समावेश छन्।
विद्यालयका अनुसार महोत्सवका प्रमुख उद्देश्यहरूमा विद्यार्थीको प्रतिभाको पहिचान र विकास, बौद्धिक तथा सृजनात्मक सीप अभिवृद्धि, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सुदृढीकरण, संस्कार र नैतिक शिक्षालाई व्यवहारसँग जोड्नु, भाषा–संस्कृति संरक्षण, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको विकास तथा उद्यमशीलता र समस्या समाधान क्षमताको विस्तार रहेका छन्।
यस महोत्सवबाट विद्यार्थीमा आत्मअनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना बलियो हुने, सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर प्राप्त हुने तथा विद्यालय-समुदायबीच दीर्घकालीन सहकार्यको आधार निर्माण हुने विश्वास लिइएको छ।
प्राचार्य प्रेमनिधि ओझाले महोत्सवलाई विद्यार्थी केन्द्रित, संस्कारयुक्त र नवप्रवर्तनमुखी शैक्षिक अभियानका रूपमा सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए।
चैतन्य पाठशालाका सीइओ गणेशप्रसाद जोशीले पनि अभिभावक, शिक्षक, सञ्चारकर्मी र समुदायको सक्रिय सहभागिताले मात्र यस्तो शैक्षिक महोत्सवले सार्थकता पाउने उल्लेख गरे।
चैतन्य पाठशालाले यस महोत्सवमार्फत शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई जीवन निर्माणको आधार बन्न सक्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिएको पाठशालाका सीइओ जोशीले बताए ।