धनगढी, १९ पुस / जेन-जी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका १९ जना भारतीय नागरिकलाई पक्राउ गर्न भारतीय सुरक्षा निकायसँग समन्वय भइरहेको कैलाली कारागार प्रशासनले जनाएको छ। कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार फरार भएका भारतीय नागरिकमध्ये १२ जना लागूऔषध मुद्दा, १ जना कर्तव्य ज्यान, १ जना चोरी, ३ जना हतियार, १ जना वन मुद्दा र १ जना अपहरणसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी रहेका थिए।
यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले फरारमध्ये २ जना भारतीय नागरिक हाल सम्पर्कमा आएको जानकारी दिनुभएको छ।
जेलर सापकोटाका अनुसार आन्दोलनको समयमा कैलाली कारागारबाट कुल ६ सय ६६ जना कैदी फरार भएका थिए। तीमध्ये हालसम्म ४ सय ३६ जना पक्राउ परिसकेका छन् वा स्वयं सम्पर्कमा आएका छन्। बाँकी २ सय ३० जना कैदी अझै फरार रहेका छन्।
फरार रहेका २ सय ३० जना कैदीमध्ये १९ जना महिला र २ सय ११ जना पुरुष रहेका छन्।
कैलाली कारागार प्रशासनले फरार कैदीहरूलाई पटक–पटक सार्वजनिक सूचना जारी गर्दै स्वेच्छिक रूपमा कारागार फर्कन आग्रह गर्दै आएको जनाएको छ। प्रशासनका अनुसार स्वेच्छिक रूपमा फर्किने कैदीप्रति कानुनी प्रक्रिया सहजीकरण गरिने व्यवस्था गरिएको छ।
