धनगढी , १८ पुस / धनगढी उपमहानगरपालिका–४ चटकपुरमा रहेको बडिमालिका वर्कसपमा आगलागी हुँदा करिब १ करोड रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको छ।
शुक्रबार बिहान विद्युत् लाइन सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको वर्कसपका सञ्चालक राजेन्द्र खत्रीले बताए। बिहान कर्मचारीहरू वर्कसपमा पुग्दा भण्डारण गरेर राखिएको सम्पूर्ण सामग्रीमा आगो लागि सकेकाले जोगाउन नसकिएको सञ्चालक खत्रीले सुदूरपत्र अनलाइनलाई बताए ।
आगलागीको जानकारी पाएपछि केही समयपछि दमकल घटनास्थलमा पुगे पनि आगो नियन्त्रणमा लिन ढिलाइ हुँदा सामग्री जोगाउन सकिएन ।
आगलागीबाट ठूलो आर्थिक क्षति भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।