नेपाल प्रिमियर लिग (एनपीएल) केवल एउटा क्रिकेट प्रतियोगिता मात्र रहेन, यो नेपाललाई फेरि एकपटक एउटै धागोमा गाँस्ने साझा भावनाको उत्सव बन्यो। गत सालदेखि सुरु भएको यो लिगले पूर्व–पश्चिम, हिमाल–पहाड–तराई, भाषा–संस्कृति–विचारको भिन्नतालाई मैदानको हरियो घाँसमा केही समयका लागि बिर्साइदियो।
मेचीदेखि महाकालीसम्मका नेपालीहरू फरक–फरक जर्सी लगाएर आए, फरक टिमको नाम चिच्याए, तर हृदयमा एउटै देश बोकेर उभिए। यही नै एनपीएलको सबैभन्दा ठूलो उपलब्धि हो। जहाँ हार-जित अंक तालिकामा सीमित रह्यो, तर एकताको जित जनताको मनमा लेखियो।
हामी मैदानमा पुग्यौँ, आफ्नो टिमलाई समर्थन गर्यौँ। कोही काठमाडौँको पक्षमा चिच्यायो, कोही पोखराको, कोही विराटनगर त कोही धनगढीको। खेल जित्दा हामी आफैँले जितेझैँ गर्व गर्यौँ, खेल हार्दा आफैँले हारेझैँ मन भारी बनायौँ। त्यो भावना कुनै स्कोरकार्डले मापन गर्न सक्दैन। त्यो त केवल नेपाली भएर महसुस गर्न सकिने अनुभूति हो। एनपीएलले हामीलाई सिकायो ; टिम फरक हुन सक्छ, तर भावना एउटै हुन्छ; जर्सीको रङ फरक हुन सक्छ, तर रगतको रङ एउटै हुन्छ।
एनपीएलको सबैभन्दा सुन्दर पक्ष भनेको यसले क्रिकेट मन नपराउने नेपालीलाई पनि क्रिकेट हेर्न बाध्य बनायो। बुझ्न बाध्य बनायो। ‘पावर प्ले के हो?’, ‘डेथ ओभर किन महत्वपूर्ण हुन्छ?’ जस्ता प्रश्न चिया पसलदेखि सामाजिक सञ्जालसम्म गुञ्जिन थाले। जो कहिल्यै क्रिकेटतर्फ नहेर्ने थिए, उनीहरू पनि कुनै न कुनै टिमको समर्थनमा उभिन पुगे। समर्थन गर्न बाध्य होइन, भावनाले तानिएर उभिए। यही त खेलको शक्ति हो। जहाँ नियमभन्दा ठूलो सम्बन्ध बन्छ।
एनपीएलले समाजका सबै तहलाई एउटै मञ्चमा ल्यायो। राजनीतिज्ञ दर्शकदीर्घामा बसेर खेल हेरिरहेका थिए, कलाकारहरू टिमको जर्सी लगाएर समर्थन जनाइरहेका थिए, समाजसेवीहरू खेलमार्फत सामाजिक सन्देश फैलाइरहेका थिए। शिक्षाविद्, विद्यार्थी, व्यापारी, पत्रकार, सुरक्षा निकाय, सबै एउटै मैदान वरिपरि, एउटै उत्साहमा उभिएका देखिन्थे। त्यो दृश्य आफैँमा एउटा राष्ट्रिय एकताको प्रतिविम्ब थियो। जहाँ पद, पेशा र पहिचानभन्दा माथि ‘नेपाली’ हुनु नै सबैभन्दा ठूलो परिचय बन्यो।
मिडियाका लागि पनि एनपीएल एउटा नयाँ अध्याय बन्यो। खेल समाचार मात्र होइन, भावना, कथा र समाजको धड्कन समेट्ने अवसर बन्यो। पत्रकारहरूले रन र विकेट मात्र होइन, दर्शकको आँखामा देखिएको आँसु, जितपछि आएको मुस्कान र हारपछि पनि बजेको तालीलाई शब्दमा उतारे। यसले प्रमाणित गर्यो—खेल पत्रकारिता पनि राष्ट्र निर्माणको एउटा सशक्त माध्यम हुन सक्छ।
एनपीएल सिजन-२ सकिँदै गर्दा एउटा मीठो अनुभूति बाँकी रह्यो। अब हामी फेरि अन्तर्राष्ट्रिय मैदानमा नेपालको झण्डा बोकेर उभिनेछौँ। एनपीएलमा फरक टिमको समर्थन गरेका हामी, अब एउटै स्वरमा ‘नेपाल–नेपाल’ भन्नेछौँ। यही निरन्तरता नै एनपीएलको असली उपहार हो। यसले हामीलाई सिकाएको छ । स्थानीय पहिचान र राष्ट्रिय एकता एकअर्काका विरोधी होइनन्, बरु पूरक हुन्।
एनपीएल कुनै एउटा टिमको जित वा हारमा सीमित छैन। यो त नेपाली समाजले आफैँलाई ऐनामा हेरेर भनेको कथा हो। हामी विभाजित देखिए पनि, अवसर पाए एकै ठाउँमा उभिन सक्छौँ। मैदानमा खेलिएको क्रिकेटभन्दा ठूलो खेल त हाम्रो मनमा खेलियो, जहाँ एकताको रन बने, विश्वासका विकेट खसेनन्, र नेपालीपनको स्कोर सधैँ जिततर्फ रह्यो। यही नै एनपीएलको जित हो, यही नै हामी नेपालीहरूको जित हो।