डडेल्धुरा, १२ भदौ / डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौड भित्री कच्ची सडक खण्डमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार ठाँटाबजारबाट डडेल्धुरातर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खस्दा दुर्घटना भएको हो। जिप चालक नवदुर्गा–५ बस्ने ३५ वर्षीय रामबहादुर साउद रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरूमा नवदुर्गा–५ का १८ वर्षीय सुरेस साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।
घाइते हुनेहरूमा नवदुर्गा–५ की १८ वर्षीया शुसिला बि.क., ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बि.क. रहेका छन्। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
