मत दिनु अघि सोच ; तिमी के बेचेर बाँच्न तयार छौ ?
लोकतन्त्रको मूल आत्मा हो मत, तर नेपालमा भने मत धैर्यले होइन, धोकाले दिइन्छ। हामीले भोट हाल्दा राज्य निर्माणमा जनताको सहभागिता भन्नाले केवल चुनावी दिनमा झण्डा बोकेर, भाषण सुनेर मत हाल्नु मात्र होइन, त्यो मतको गहिरो मूल्य बुझ्नु हो। मत दिने बेला हामी प्रायः जात, धर्म, पार्टी झण्डा, पुराना आदर्श र चिनिएका अनुहारमा मात्रै भरोसा गर्छौं। अनि त्यही सोचले नेपालको राजनीतिक संरचना दलाल लोकतन्त्रतर्फ धकेलिएको छ। यहाँ नागरिक जनशक्ति होइन, केवल संख्यात्मक अस्तित्व मात्र बनेका छन्।
कोशी, गण्डकी, महाकाली; यी नदीहरू नाम मात्र होइन, नेपालको राष्ट्रिय पहिचान र स्वाधीनतासँग जोडिएका प्रतीक हुन्। तर विडम्बना के छ भने, ती भूगोललाई सत्ता पाएका नेताहरूले सम्झौताका नाममा, रणनीतिक साझेदारीको झल्कोमा, पटक–पटक बेचिसकेका छन्। सन् १९५४ को कोशी सम्झौता, १९५९ को गण्डकी सम्झौता र १९९६ को महाकाली सन्धिले नेपालको राष्ट्रिय स्वाभिमानलाई चोट पुर्याएको छ। अनि आश्चर्य के छ भने, ती दलहरू नै चुनावको बेला राष्ट्रवादको नाममा मत माग्न आउँछन्।
नेपालले पछिल्ला तीन दशकमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्यो — बहुदलीय व्यवस्था, गणतन्त्र, संघीयता, संविधान र समावेशिता। तर ती उपलब्धिहरूको सार्थकता जनताले अझै महसुस गर्न सकेका छैनन्। किनभने राजनीति मात्र परिवर्तन भयो, तर राजनीतिक संस्कार र चरित्र कहिल्यै फेरिएन।
आज पनि संसददेखि सरकारसम्म पुराना दल र त्यही दलभित्र घुमिरहने अनुहारहरू छन्, जसले जनताको म्यान्डेटलाई बारम्बार धोका दिएका छन्। २०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्था ल्यायो, २०६२र६३ को आन्दोलनले गणतन्त्र स्थापन गर्यो, र २०७२ को संविधानले संघीयता सुनिश्चित गर्यो। तर ती सबै परिवर्तनहरू कागजमा मात्र सीमित रहे।
हिजोको पुस्ताले बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तन, आजका दलहरूको स्वार्थका खेल बन्न पुग्यो। एउटै व्यक्तिले पटक–पटक प्रधानमन्त्री पद ओगट्ने, सत्ता गठबन्धनका नाममा अपारदर्शी सम्झौताहरू गर्ने, र जनताको आँखामा धूलो हाल्ने यस्ता क्रियाकलापले देशलाई कहिल्यै प्रगतिको बाटोमा लैजान सक्दैनन्।
जनताले कहिलेसम्म विगतका आदर्श र योगदानको नाममा फसिरहनेरु कांग्रेसले प्रजातन्त्र ल्यायो, एमालेले संविधान बनायो, माओवादीले जनयुद्ध लड्यो भन्ने कुरा त सत्य हो। तर आजको जनताले के पाएरु आन्दोलन गर्नेहरू आजका सत्ता धनी छन्, र उनीहरू नै तिनै प्रणालीका दलाल बनेका छन्। संसद जनताको आवाज उठाउने ठाउँ होइन, सत्ताको सौदाबाजी र गठबन्धनको धोखाधडी दोहोरिने मञ्च बनेको छ।
यति बेला देशका १५ लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा छन्। गाउँघरका खेतहरू बाँझो छन्, स्कुलहरू खाली छन्, र सपना अधूरो छन्। राज्य बजेट भाषणमा आर्थिक वृद्धि र विकासका कुरा गर्छ, तर बेरोजगार युवाको सपना पूरा गर्न ठोस नीति कहिल्यै देखिदैन। सांसदहरूले एम्बुलेन्स बाँडेर, बत्ती बालेर, र बर्दी लगाएर लोकप्रियता जुटाउने प्रयास गर्छन्, तर नीतिमा ध्यान दिने समय कहिल्यै आउँदैन।
आज हामीलाई प्रश्न गर्न जरुरी छ । मत दिनुअघि नेताको भाषण मात्र होइन, तिनको विगत र चरित्र पनि बुझ्नुपर्छ। मत केवल पाँच वर्षको म्याद नभएर, तिम्रो भविष्य, तिम्रो सन्तानको भविष्य र देशको भाग्यसँग सम्बन्धित छ। यदि तिमी अझै पनि जात, धर्म, पार्टी र झण्डाको नाममा मत हाल्नेछौ भने, तिमी आफ्नो भविष्य होइन, देशको आत्मा बेच्न तयार भएको हो।
मत परिवर्तन कुनै क्रान्ति होइन, चेतनाको विकल्प हो। यो विकल्प पुस्तान्तरणको आवाज हो मत क्रान्ति होइन, चेतनाको विकल्प हो । जहाँ अब गाली गर्न होइन, शासन गर्न तयार भएर मत हाल्नुपर्छ। राजनीति खराब छ भनेर गाली गर्न सजिलो छ, तर त्यो राजनीति सुधार्ने जिम्मा लिन सक्ने युवा नै अभावमा छन्। र जबसम्म राजनीति गाली मात्रै सुन्छ, तबसम्म राजनीतिमा गालीयोग्य पात्रहरू नै आइरहन्छन्।
जनताको शक्ति मतमा मात्र होइन, चेतनामा रूपान्तरण होस्। मत तिमीले दिनेछौ, तर त्यसको असर तिम्रो देशको पानी, भूमि, अर्थतन्त्र, श्रमशक्ति र सामाजिक न्यायमा पर्नेछ।
तिमी फेरि पनि झुटो आश्वासन, पुराना आदर्श र पाखण्डी राष्ट्रवादको नाममा मत बेच्न तयार छौ वा छैनौ विवेक आफैले पुगाउने । तिमीले यसपालिको मत सोच विचार गरेर, विवेकका साथ हाल्नुपर्छ ।
किनभने अब यो देशलाई तिमी जस्ता सोच्नेहरूको काँधको आवश्यकता छ ।
लेखक :- विशाल भट्ट (उनी एक सचेत युवा हुन , युवा जागरणमा कलम चलानउने गर्छन)
