✍️धिरेन्द्र गोयला
आजका युवालाई जति प्रेरणात्मक भावनाले प्रेरणा दिन सक्यो, तिनै समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निभाउँछन्। युवा भन्नाले १६ वर्ष पूरा गरेका र ४० वर्ष नपुगी बालापनको चञ्चलता पार गरेर विचार र सीपमा दक्ष, जोस र जागर भरिएका, केही नयाँ गर्नु पर्ने ठान्ने युवा वर्गलाई जनाउँछ। यही वर्गले समाज र राष्ट्रको परिवर्तनका लागि अग्रणी भूमिका निभाउन सक्छ।
नेपाल जस्तो विकासशील देशमा युवाशक्ति नै देश निर्माणको मेरुदण्ड हो। जबसम्म युवाहरू जागरूक र सक्रिय छैनन्, तबसम्म समाजमा दीगो परिवर्तन सम्भव छैन। युवाहरूलाई भविष्यको कर्णधार मात्र भन्ने भनाइभन्दा पर उनीहरूलाई नेतृत्व, नीति निर्माण र सक्रिय सहभागितामा ल्याउन आवश्यक छ।
आजका युवा केवल समुद्रको गहिराइमा पुगेर मोती टिप्ने मात्र होइन, सुदूर ब्रह्माण्डका तारा र ग्रहहरूको अध्ययन गर्नसमेत सक्षम छन्। उनीहरूमा नेपाली युवाहरूको साहस, गौतम बुद्धको त्याग, र हिटलरको जस्तो कडाइ पनि देखा पर्छ।
हामी सबैलाई यसै प्रश्नमा सोच्नुपर्ने छ: हामी हाम्रो भावी पुस्ताका लागि कस्तो नेपाल छोडेर जान चाहन्छौं?
नेपालको जनसंख्याको ठूलो हिस्सा १६ देखि ४० वर्ष उमेर समूहको छ। यही समूहमा सिर्जनशीलता, ऊर्जा र नवीन सोच पाइन्छ। इतिहासका महत्वपूर्ण क्रान्तिहरू—२००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ को जनआन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक संघर्ष—यसबाहेक कुनै ऐतिहासिक परिवर्तन युवाहरूको नेतृत्व र बलिदान बिना सम्भव थिएन। यसले युवा क्षमतामा समाजको विश्वास पनि जगाएको थियो।
आजका यी बहुआयामिक सोच भएका युवाहरूले मात्र समाज परिवर्तनका लागि नयाँ बाटो बनाउन सक्छन्। नेपाली युवा शक्ति केवल क्रान्तिका प्रतीक होइन, विकासका साझेदार पनि हुन्। उनीहरूले आजको रद्दीको टोकरीलाई पुनः केलाउन सक्छन् र कोरियाजस्तो विकास आफ्नै माटोमा रोप्न सक्छन्।
हामीलाई “देशले के दियो?” भन्ने होइन, “मैले देशलाई के दिए?” भन्ने भावना हामी सबैमा हुनु आवश्यक छ। यदि आज हामीले आफ्नो देश नबनोस् भने, यो देश हामीले नै बनाउनु पर्छ, किनकि हामी यसका सन्तान हौं। हामी नेपाली युवाशक्ति कुनै राजनीतिक नारामा होइन, जातिवाद र धार्मिक कट्टरतामा होइन, समान व्यवहार, सहिष्णुता, सद्भाव र आदरका साथ अघि बढ्नु पर्छ।
आज हामी सबैलाई यो कुरा बुझ्न आवश्यक छ कि हामी सबै, चाहे पहाड होस्, मधेश होस्, वा अन्य जात, धर्म र भाषाका प्रतिनिधिहरू, सबैभन्दा पहिला नेपाली हौं भन्ने भावना हामीले साझा गर्नु पर्छ।
उत्तेजनाबाट होइन, परिवर्तनबाट बदलिन्छ
हामीले देखेको छौं कि उत्तेजनाले कुनै पनि देश परिवर्तन गर्न सक्दैन। केवल उत्तेजनाबाट मात्र हामी अघि बढ्न सक्दैनौं। परिवर्तनको लागि असल सीप, दक्षता र योजनामा आधारित सोच आवश्यक छ।
आजको समाजमा हामी अक्सर आक्रोश र उत्तेजनाले प्रतिक्रिया जनाउँछौं, तर जब वास्तविक परिवर्तनको कुरा आउँछ, त्यहाँ हामी चुप लाग्छौं। देश परिवर्तनको जिम्मेवारी केवल नेतामा होइन, नागरिकको हातमा पनि छ। जबसम्म नागरिकले आफ्ना कर्तव्य बुझ्दैनन्, देशले समृद्धि हासिल गर्न सक्दैन।
हामीले शिक्षालाई केवल जागिरको साधन ठानेर पढेका छौं, र युवाहरूलाई विदेश जानु नै सफलता मानिएको छ। यसले हामीलाई सिर्जनात्मक बन्नबाट रोक्छ। हामीले व्यवसाय र राजनीति मात्र भ्रष्टाचारको प्रतीक ठानेका छौं, तर यो गलत सोच हो।
आवश्यक परिवर्तन र योजना
उत्तेजनाबाट केही समयको लागि मानिस जागरूक बन्न सक्छ, तर दीर्घकालीन परिवर्तनको लागि योजनाबद्ध र निरन्तर क्रियावली आवश्यक छ।
✍️ लेखक:- धिरेन्द्र गोयला (कैलाली बहुमुखी क्याम्पसमा ब्यबस्थापन संकाय दोश्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी)