धनगढी,११ जेठ / कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिना माथी गएराति भन्सार कार्यालयभित्रै कुटपिट भएको आरोप लागेको छ । उनले धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले आफुमाथी भन्सार कार्यालयभित्रै आएर कुटपिट गरेको आरोप लगाएका छन् ।
धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक(इन्सपेक्टर) लक्ष्मण सिंह धामीको टोलीले आफुमाथि कुटपिट गरेको उनले बताएका छन्। गएराति भन्सार कार्यालयभित्रै प्रवेश गरेर प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि नगर प्रहरी प्रमुख धामीसहितका नगर प्रहरीले कुटपिट गरेको आरोप लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच वादविवाद भएको खबरपछि राति प्रहरीको टोली पठाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिती समान्य भइसकेको बताउँदै घटनाबारे थप कुरा बुझ्ने काम भइरहेको बताए ।
तर नगर प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले तिमिल्सिनालाई भन्सार कार्यालयभित्रै प्रवेश गरेर कुटपिट गरेको दाबी गरिएको छ । धामीले भने तिमिल्सिनामाथि कुटपिट नगरेको तर मदिराले लठ्ठ अवस्थामा रहेका उनले आफूहरुमाथि दुव्र्यवहार गरेको उनको दाबी छ । ‘हामीले उहाँमाथि कुटपिट गरेका छैनौँ । बीच सडकमा हाम्रो भ्यानमा हानेर तपाईहरुलाई थुनिदिन्छौँ भनेर म माथि हातपात गरेर धकेलेपछि मैले उता धकेलेको थिए । त्यो बेला मेरो मोबाइल भुँइमा खस्यो,’ धामीले भने, ‘अत्यधिक मापसे गरेको अवस्थामा म भन्सारको चिफ हुँ भन्दै सडकमा तमासा देखाइरहनुभएको थियो ।’
धामीले उनी भन्सार प्रमुख भएको कुरा थाहा नभएका कारण भन्सार कार्यालयभित्र अनाधिकृत व्यक्ति प्रवेश गरेको पो हो की रु भनेर आफूहरु त्यहाँभित्र गएको तर हातपात र कुटपिट नगरेको दाबी गरे । ‘म भन्सारको चिफ हुँ भनेर तमासा देखाइरहनुभएको थियो । त्यहाँ भएका कसैले पनि उहाँ चिफ हो भनेर भन्नुुभएन । उहाँ भन्सार कार्यालयभित्र प्रवेश गरेपछि हामी पनि गएका थियौँ,’ धामीले भने, ‘तर पछि प्रहरीले हाकिम साप हो भनेर यकिन गरेपछि हामी फर्किएको हो । हातपात र कुटपिट गरेका छैनौँ ।’
तीव्र गतिको स्कारपियोले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि खोजीमा नगर प्रहरीको टोली राती कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो । घटनाबारे बुझन भन्सार तिमिल्सिनालाई सम्पर्क गरिएपनि उनले उठाएका छैनन् ।