राजतन्त्रको पुनरागमन सम्भव छ? – समयले जन्माएको प्रश्न !
✍️ कुबेर राज जैशी
महाभारतमा यक्ष युधिष्ठिरलाई प्रश्न गर्छन्, ‘राष्ट्रको मृत्यु कहिले हुन्छ ?’ यसको उत्तरमा युधिष्ठिर भन्छन्, ‘अराजकता ।’ ठीक त्यस्तै अवस्थातिर नेपाल जाँदै छ । यसको चिन्ता कसले लिने ? सरकारले कि जनताले अर्थात् राजाले कि कसले ?
खैर आज पछिल्लो समय एकदमै चर्चामा रहेको विषयमाथि विमर्श गरौं । प्रश्न छन । के राजा फर्किन्छन त ? राजतन्त्र फर्किने सपना कि सम्भावना? राजतन्त्रको पुनरागमन: आवश्यकता कि आत्मघात ? लोकतन्त्रपछि राजतन्त्र – समयले जन्माएको प्रश्न …!
मेरो मनमा केही समय अगाडिदेखि यस्ता प्रश्न खुब चर्चाको बिषय हुन्थे । केही समय अगाडि राजावादीको आन्दोलन सुरू भयो जसमा कमान्डर को हुने अर्थात् नेतृत्व कसले गर्ने भन्ने बिषयमाथि नै राजावादीहरू बिच नै एक किसिमको बहसको बिषय बन्यो जसमा बाहिर चर्चामा एउटा नाम थियो करिब ८६ बर्षिय नवराज सुवेदी जो पञ्चायतका अन्तिम अर्थात् पुर्व अध्यक्ष पनि हुन तर ठिक उल्टो भयो । अनन्त चैत्र १५ देखि सुरू हुने राजावादीको आन्दोलन दुर्गा प्रसाइको नेतृत्वमा हुने पक्का भयो । त्यसपछि चैत्र १५ गते राजावादीको प्रदर्शन तथा आन्दोलन पनि सुरू भयोजुन एउटा भयानक , अराजकताले प्रसय पायो जुन आन्दोलनमा एक जना भिडियो खिच्दै गरेका पत्रकार आगोमा जलेर मृत्यु हुन पुगे भने एकजना राजावादीको आन्दोलनमा सहभागी भएका व्यक्तिको प्रहरिको गोलिबाट मृत्यु हुन पुग्यो र अन्य क्षति कति भयो त्यसको लेखाजोखा अहिलेसम्म आएको छैन। त्यो आन्दोलनको नेतृत्व लिएका दुर्गा प्रसाइ अहिले ज्यान मुद्दामा जिल्ला परिसर काठमाडौ हिरासतमा छन र आन्दोलन पुनःसक्रिय रूपमा हुने घोषण गरिसके राजावादी समर्थकले। अब त्यो आन्दोलनको परिणाम के भयो त्यो गहिरो रूपमा मनन गर्नुपर्ने छ ।
राजावादी तर्फका कमजोरी के थिए र सरकारका त्रृटि के थिए त्यो छुट्टै बहसको बिषय हुन सक्छ । यस्ता घटना त्यो भन्दा पहिला नभएका होइनन् तर भिडले न्याय देख्दैन केबल अन्याय , अराजकता देख्छ । भिडको कुनै निश्चित गन्तव्य हुदैन त्यसैले कुनै पनि निर्णय लिनुभन्दा पहिला त्यसबारे वृहत् रूपमा सोच विचार गरेर मात्र अगाडि बढ्नुपर्छ आजको आधुनिक एआइको युगमा पहिला जस्तो क्रान्ति केबल बन्दुकको नालबाट मात्र सम्भव हुन्छ भन्ने अभिव्यक्तिलाई चिरेर अबका आन्दोलन बहस , विचार, शान्तिपूर्ण तरिकामा आधारित हुनुपर्छ । अहिलेको मुख्य प्रश्नतर्फ लागौं के राजा पुनः फर्किन सक्छन् अर्थात् राजतन्त्र फर्किने सम्भावना कि सपना अर्थात् के नेपालमा राजतन्त्रको पुनरागमन सम्भव छ ? यी प्रश्नतर्फ केन्द्रीत हुन चाहे । हुन त म कुनै विश्लेषक पनि होइन न त कुनै राजनितिज्ञ या कुनै विद्वान् म एउटा स्नातक कानुन अध्यन गर्दै गरेको विद्यार्थी हल्का फुल्का कानुन , राजनीति अर्थात् समसामयिक बिषयमाथि चासो राख्ने भएकाले मेरो मनमा यस्ता केही प्रश्न जन्मेका थिए आज स्पष्ट पार्न चाहान्छु ।
हुन त हामीले जति कुरा गरेपनि , बहस गरेपनि भविष्यको गर्भमा रहेको कुरा सतप्रतिशत भनेर भन्न सकिदैन किनकि समाज गतिशील छ , परिवर्तनशिल छ । माक्र्सले परिकल्पना गरेजस्तो हिजोको त्यो आदिम कम्युनमुलक समाज , दास- स्वामी समाज हुदै सामन्तवादि समाज पनि विस्थापित भएर अहिले पुँजीवादी समाजमा छौ र यसको पनि अन्त्य भएपछि साम्यवादी समाजको परिकल्पना गर्छन माक्र्स । हामी हेर्न सक्छौ समाज कति गतिशील छ भनेर विश्वमा ठुला ठुला क्रान्तिहरू भए जनताले आफ्नो हक, अधिकार तथा स्वतन्त्रताको लडाइँमा आफ्नो जीवन समर्पित गरे त्याग गरे बलिदान अर्पण गरेर अहिले विश्वमा लोकतन्त्रले स्थान पाएको छ । त्यस्तै नेपालमा पनि धेरै आन्दोलन भए , ठुला ठुला क्रान्ति भए तर किन जनताको अवस्थामा परिवर्तन आएन भन्ने अहिलेको मुल प्रश्न रहेको छ ।
नेपालको इतिहासको मूल प्रवाहमा राजा सधैं एउटा शक्तिशाली उपस्थितिको रूपमा अवस्थित रह्यो। ‘राजा नभए राष्ट्र रहँदैन’ भन्ने भावनाले सयौँ वर्षसम्म नेपाली समाजलाई बाँधेको थियो। तर २०६२/६३ को जनआन्दोलनले त्यो धारामा निर्णायक मोड ल्यायो। जनताले अब शासन गर्ने अधिकार आफूले राख्नुपर्छ भन्ने अडानका साथ सदियौँ पुरानो राजतन्त्र अन्त्य गर्यो। त्यसपछि स्थापना भयो—गणतन्त्र । आज ठ्याक्कै उस्तै जोशका साथ प्रश्न उठ्दैछ—के राजा पुनः फर्किन सक्छन्?
तर यो प्रश्न केवल भावनाको विषय होइन। यो एउटा ऐतिहासिक, राजनीतिक, वैधानिक र मनोवैज्ञानिक गहिरो बहसको विषय हो। हामीले सोच्नैपर्ने कुरा हो—राजतन्त्रको पुनरागमन सम्भव छ कि छैन भनेर मात्र होइन, सम्भव भइहाले के त्यो आवश्यक छ? औचित्य के छ? र त्यो चाहनाको स्रोत कता हो? अहिले जनताको मनमा किन यो वितृष्णा उत्पन्न पैदा भयो र जनताले राजा आउ देश बचाउ भनेर भन्न थाले यसका केही कारण छन ।
जनआन्दोलनपछि जनआकांक्षा
२०६२/६३ को आन्दोलन केवल राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्धको विरोध मात्र थिएन; त्यो आन्दोलन जनताले सत्ता सधैंका लागि आफूकै हातमा चाहेको घोषणा थियो। जनताले अब राजाबाट होइन, जनप्रतिनिधिबाट शासन पाउने आकांक्षा राखेका थिए। तर गणतन्त्रको डेढ दशक नपुग्दै—सडकदेखि सामाजिक सञ्जालसम्म, चिया पसलदेखि विश्वविद्यालयसम्म फेरि एउटै सवाल उठ्न थालेको छ—राजा हुँदा त यत्रो अस्तव्यस्तता थिएन, हैन र?
यो प्रश्न जुनसुकै कोणबाट हेरिए पनि गम्भीर छ। यसको अर्थ के हो भने—गणतन्त्रले जनअपेक्षा पूरा गर्न सकेको छैन। जब लोकतान्त्रिक प्रणालीले भ्रष्टाचार, वंशवाद, सत्ता भागबन्डा, मूल्यहीनता र अराजकताभन्दा केही बढी दिन सक्दैन भने, मानिसहरूको मन फेरि परम्परातर्फ फर्कन थाल्छ। यो मनोवैज्ञानिक सत्य हो—नयाँले धोका दियो भने पुरानोलाई स्मरण गरिन्छ।
गणतन्त्रप्रतिको मोहभंग: तथ्य र मनोविज्ञान
जनताले बहुदलीय लोकतन्त्र र गणतन्त्रबाट सुशासन, उत्तरदायित्व र समावेशिता चाहेका थिए। तर आज सत्तामा बस्नेहरूकै चुलो मात्र बलिरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, महँगी, न्याय, सुरक्षा जस्ता बुनियादी विषयमा जनताको भरोसा संकटमा परेको छ।
आजको संविधान, जुन सैद्धान्तिक रूपमा विश्वकै उत्कृष्टमध्ये पर्छ, कार्यान्वयनको सन्दर्भमा निराशाजनक छ। जनप्रतिनिधिहरू उत्तरदायी छैनन्, न्याय प्रणाली राजनीतिक प्रभावमा छ, भ्रष्टाचार संस्थागत भएको छ, र राजनीति नै व्यापारजस्तै भएको छ। यस्तो अवस्थामा कतिपयले भन्न थालेका छन्—”कम्तिमा राजा हुँदा जनताले केही सुस्तरी भए पनि बाँच्न पाउँथे।” यसको अर्थ के हो भने, राजाको प्रतिवाद होइन, अहिलेको अराजकताप्रतिको वितृष्णा नै राजतन्त्रको सम्भावनालाई उछालिरहेको छ।
राष्ट्र, धर्म र पहिचानको विमर्श
नेपाल हिन्दू बाहुल्यता भएको देश हो, जहाँ राजा केवल शासनप्रमुख नभएर धर्म, संस्कार र परम्पराको संरक्षकको रूपमा पनि स्थापित थिए।
राजा हटेसँगै धर्मनिरपेक्षता आयो, तर धार्मिक स्वतन्त्रता आयो कि परम्पराको विस्थापन? धेरैको मनमा प्रश्न छ। कतिपयको लागि राजा भनेको नेपाली एकताको प्रतीक हो, हिन्दू चेतनाको संरक्षक हो, र नेपालको अन्तर्राष्ट्रिय स्वाभिमानको आधार हो। नेपाल चीन र भारतबीच रहेको एक सानो देश—जहाँ सन्तुलन कायम राख्न सक्ने राजनैतिक बुद्धिमता र स्थायित्वको खाँचो बढ्दो छ। यही सन्दर्भमा केहीले फेरि राजसंस्थालाई स्मरण गरिरहेका छन्।
संवैधानिक र व्यावहारिक यथार्थता तर्फ फर्कौ !
अहिलेको संविधानले स्पष्ट रूपमा नेपाललाई गणतान्त्रिक राष्ट्र घोषणा गरिसकेको छ। यसको धारा १ ले नै गणतन्त्रलाई अपरिवर्तनीय मान्यता दिएको छ। त्यसैले राजतन्त्र फर्कन केवल चाहनाले मात्र हुँदैन—संविधान संशोधन, जनमत संग्रह, संसदमा दुई तिहाइ बहुमत जस्ता थुप्रै जटिल प्रक्रिया पार गर्नुपर्छ।
राजतन्त्रको समर्थनमा सडकमा उत्रिने केही समूह छन्, तर ती संख्या कति प्रभावशाली छन्? जनताले लोकतन्त्रमा आशा गुमाए पनि त्यसको विकल्प खोज्दा पुनः अधिनायकवादी ढोका खोल्न तयार छन्? अहिलेका युवा पुस्ता, जसले राजा भन्ने चलन देखेका पनि छैनन्, के उनीहरू सचेत रूपमा यस्तो प्रणालीमा फर्किन चाहन्छन् ? अहिलेको युवापुस्ताले मुलतः विचार गर्नुपर्ने छ ।
फर्कने हो भने कस्तो राजा…?
यदि, काल्पनिक रूपमा मानौँ—राजतन्त्र फर्कन्छ भने के त्यो पुरानै स्वरूपमा सम्भव छ? होइन। अब राजा फेरि सर्वशक्तिमान हुँदैनन्। जनताले चाहेमा मात्रै सिमित भूमिका दिन सक्छन्—संवैधानिक प्रमुखको रूपमा, सेरेमोनियल भूमिका निभाउने व्यक्तिको रूपमा—बेलायत, जापान वा नर्वेका राजाहरू जस्तै।
तर त्यसका लागि जनमत चाहिन्छ, बहस चाहिन्छ, र सर्वपक्षीय सहमति चाहिन्छ। जुन अहिलेको विभाजित राजनीतिक संस्कृतिमा सजिलो छैन।
निष्कर्षमा अबको बाटो : पुनरागमन होइन, पुनर्विचार आवश्यक छ ।
राजा फर्कन सक्छन् ? – उत्तर – हो, संविधान संशोधन, जनसमर्थन र राजनीतिक बहसको सहमतिबाट त सम्भव छ।
तर, फर्कनै पर्छ ? – यसको उत्तर सहज छैन। केवल गणतन्त्रको असफलताले राजतन्त्र सही भन्ने प्रमाण हुँदैन। र अहिलेको एक्काइसौं शताब्दीमा लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन बरू प्रणालि भित्रका त्रृटि माथि सुधार गर्नुपर्छ , प्रवृति सुधार गर्नुपर्छ । नयाँ लोकतान्त्रिक व्यवस्था ओभरनाइट स्थापित हुँदैन। पुराना संरचना र सोच हटाउन समय लाग्छ। असमानता र असन्तुलन लाई तुरुन्तै समाधान गर्न सकिँदैन; यो दीर्घकालीन प्रक्रिया हो । पुराना व्यवस्था र सोच हटाउनका लागि राजनीतिक सुधार , आर्थिक समता र सामाजिक समावेशीता आवश्यक हुन्छ। अमेरिका जस्तो देशमा लोकतन्त्र बलियो रूपमा स्थापित हुन सयौं बर्षको इतिहास छ ।
हामीले राजतन्त्रको पक्ष-विपक्षभन्दा पहिले आफ्नै चेतनालाई प्रश्न गर्नुपर्छ—हामी कुन शासन प्रणालीमा साँचो न्याय, विकास र स्वाभिमान खोजिरहेका छौँ? व्यक्ति बदल्ने कि प्रणाली सुधार्ने? राजा फर्कने भन्दा बढी जरुरी छ—राजनीतिमा राजा जस्तो इमानदारी, निष्ठा र दूरदृष्टि फर्काउनु। यस्तो पुनरावलोकनको बेला, राजा होइन, राष्ट्रिय जिम्मेवारी फर्किनुपर्छ—राजा होइन, जनताको शासनमा राजा जस्तो अनुशासन फर्किनुपर्छ। जनता र नेताबीच विश्वास विकास गर्नुपर्छ। अनि मात्र देश साँचो अर्थमा अगाडि बढ्छ ।
✍️लेखक :-कुबेर राज जैशी (कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत हुनुहुन्छ; साथै स्ववियु सहसचिव)
