धनगढी, १८ वैशाख / कैलालीको घोडाघाडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय कलेजमा भएको हालैको स्ववियु निर्वाचन विवादमा तानिएको छ। चुनाव जितेका स्ववियु सभापति सुन्दर गौतम आफैं कलेजमा भर्ना नभएको प्रमाण फेला परेपछि शिक्षा क्षेत्रको नैतिकता र निर्वाचन प्रक्रियाको पारदर्शितामा गम्भीर प्रश्न उठेको छ।
चुनावमा आश्चर्यजनक परिणाम
गौतमले अखिल (क्रान्तिकारी) को तर्फबाट उम्मेदवारी दिंदै अनेरास्ववियु–नेविसंघ संयुक्त प्यानललाई ९७ मतले पराजित गरे। दोस्रो स्थानमा रहेका माइकल चौधरी ९२ मतले पछि परे। यद्यपि, जितको खुसी धेरै दिन टिक्न सकेन।
भर्ना बिना उम्मेदवारी
सूत्रअनुसार गौतम स्नातक पास गरेर स्नातकोत्तरमा भर्ना हुनुपर्नेमा कलेजमा दाखिला नभएको खुलिएको हो। लेखा शाखामा किर्ते रसिद प्रयोग गरी भर्ना देखाइएको थियो। यमुना बोहराको नाममा काटिएको १६६/११२४३ नम्बरको भर्ना रसिद गौतमको नाममा प्रयोग गरिएको देखिन्छ।

क्याम्पस प्रशासनको भूमिकामाथि प्रश्न
क्याम्पस लेखापाल लक्ष्मण चौधरीले गौतमको दबाबमा किर्ते काम गरेको स्वीकार गरेका छन्। ‘विल ठेलीमा अन्दाजी रसिद नम्बर हालियो,’ उनले भनेका छन्। उनले आफूलाई फसाइएको बताउँदै सम्पूर्ण जिम्मेवारी गौतमले लिनुपर्ने बताएका छन्।
गौतमको प्रतिक्रिया : आफू अनविज्ञ
सभापति गौतमले आफूले इन्ट्रान्स दिएको र भर्ना गरिदिन भनेको बताए। तर, भर्ना भएको छ कि छैन भन्ने जानकारी आफूले नलिएको दाबी गर्छन्। “पैसाको सटेज थियो, केही दिनमा बुझाउँछु भनेको थिएँ,” उनले भने।
मुद्दा अदालतमा, शपथ अन्योलमा
स्ववियु निर्वाचन सकिएलगत्तै फर्जी मतदाता रहेको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो। अहिले भने सभापति आफैं फर्जी ठहरिएपछि अन्य पदाधिकारीहरूको शपथ पनि अन्योलमा परेको छ।
क्याम्पस प्रमुख देबेन्द्र कुमार प्रसाईंले पनि बिषय अदालतमा पुगिसकेको छ यसबारे अव अदालतले निर्णय गर्ने बताएका छन् । यसरी हेर्दा गौतमलाई क्याम्पस प्रशासनले नै स्ववियू सभापति बनाएको देख्न्छि ।