वैशाख १६, बझाङ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) सम्बद्ध व्यक्तिहरूद्वारा चन्द्रा एण्ड बसन्त निर्माण प्रालीका साईटमा खटिएका कर्मचारीहरुले चन्दा नदिएको भन्दै कर्मचारीहरुलाई गालिगलैच गरि धम्काएर चन्दा माग्ने प्रयास गरेका छन् ।
बझाङको दुर्गाथली गाउँपालिका स्थित मौरीबगर छबिसपाथिभेरा सडक अन्र्तगत मौरीबगरदेखि दुर्गाथली गाउँपालिकासम्मको ४ किलोमिटर सडक निर्माण कार्य गरिरहेको चन्द्रा एण्ड बसन्त निर्माण प्रा.ली.का कर्मचारीहरुमाथी बिप्लव समुहले धम्की दिदै चन्दा असुल्न खोजेको छ ।
निर्माण कम्पनीका साईट ईन्चार्ज सन्तोष चन्दले वैशाख १५ गते राती १० बजे विप्लव समूहका भरत मल्ल, कमल थापा र आकाश खाती कम्पनीको निर्माण क्याम्पमा आएर कम्पनीलाई १० लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै कडा चेतावनी दिएको बताए । साथै उनिहरुले चन्दा नदिए अपहरण गरी हातहतियार प्रयोग गर्ने धम्की दिएको बताए ।
“वैशाख १६ गते बिहान ७ बजे पनि विप्लव समुहका व्यक्तिहरु निर्माण स्थलमै पुगेर काम रोक्न निर्देशन दिँदै विवाद सुरु गरेका थिए,एक प्रत्यक्षदर्शीले भने “विवादको क्रममा साईट ईन्चार्ज माथि हातपातको प्रयास भएको छ ।”
निर्माण कम्पनीले यस घटनालाई ‘विकासविरोधी गतिविधि’ को संज्ञा दिँदै दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । कम्पनीलाई पटक–पटक चन्दा माग्ने, काममा अवरोध पु¥याउने, र हिंसात्मक शैली अपनाउनेजस्ता घटनाले स्थानीय पूर्वाधार विकासमा प्रतिकूल असर पार्ने जनाएका छन्।
२०७७ सालदेखि सुरु गरिएको मौरीबगर– दुर्गाथली गाउँपालिकासम्मको सडक निर्माणको पहिलो चरणमा करिब ३ किलोमिटर डिबिएसटी सडक निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी रहेको १.२५ किलोमिटर सडकको लागि हालसम्म भेरीफिकेसन अर्डर (भिओ) स्वीकृत नभएको भए पनि कम्पनीले आफ्नो लगानीमा काम अघि बढाइरहेको जानकारी दिएको छ । विप्लव समूहले यसअघि पनि विभिन्न कार्यक्रमको नाममा निर्माण कम्पनीबाट करिब १ लाख रुपैयाँ चन्दा लिइसकेको चन्द्रा एण्ड बसन्त निर्माण प्रालीका साईट ईन्चार्ज सन्तोष चन्दले बताए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले दोषी पहिचान गरेर कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारे । धम्की दिने विप्लव समुहका व्यक्तिहरु सम्पर्क विहिन भएको र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीले अनावश्यक रूपमा चन्दा माग्ने कार्य गैर कानुनी भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।