यमुना साउद ,धनगढी,१६ बैशाख / डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का किसान प्रसाद दत्त अवस्थीको मुख्य पेसा कृषि हो । उनले तरकारी लगायत च्याउ खेती पनि गरिरहेका छन् । उनले गत वर्षदेखि गन्यापधुरा १ भात काँडामा च्याउ खेती गर्दै आएका हुन् । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनले लगानी बढाउँदै लगेका छन् ।
अहिले उनले वार्षिक रूपमा रु १५ लाख बराबरको च्याउ खेतीबाट आर्थिक कारोबार गर्दै आएका छन् । यसबाट रु तीन लाखसम्म बचत हुने गरेको उनको भनाइ छ । ‘ गत वर्षबाट च्याउ खेती सुरु गरेको थिए । अहिले एक वर्ष भयो । म निरन्तर रूपमा च्याउ उत्पादन गर्दै आएको छु’, उनले भने,’ छोटो अवधिमा राम्रो आम्दानी भएको छ ।’ पहिले च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउ खेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताए । ४२ वर्षीय अवस्थी पहिले देखी तरकारी खेती समेत गर्ने गरेका थिए । अहिले उनको च्याउ फार्ममा ७ जना कामदारले समेत रोजगार पाएका छन् ।कृषि पढिरहेका विद्यार्थीहरू समेत त्यहाँ ओजेटी गर्न आउने गरेको उनले बताए।
दैनिक करिब २ देखी तिन क्विन्टल बराबरको च्याउ उत्पादन गर्दै आएको बताउने अवस्थीले उत्पादन भएको च्याउ स्थानीय बजार डडेलधुरा, बुडर, पाटन,डोटी, धनगढी, अत्तरिया, महेन्द्रनगर लगायतका ठाउँमा समेत पठाउने गरेको बताए । उनले खुद्रामा रु १६० केजीका दरले बिक्री गर्दै आएका छन् । सुगर, प्रेसरलगायतका बिरामीले समेत खान मिल्ने र मासु नखानेले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ ।
‘पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर अहिले त्यो अवस्था हटेको छ’, उनले भने,’अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास भएको छ । जसले गर्दा खपत बढेको छ ।’ प्रसाद अवस्थीले दुई २ रोपनीमा १८ टहरा निर्माण गरी च्याउ खेती गरिरहेका छन् । भने अझै १० टहरा थप्ने तयारीमा उनी छन् । उनका अनुसार च्याउ भदौ महिनादेखि कार्तिक र चैत देखी असारसम्म राम्रो आम्दानी लिन सकिने बताए । उनले अहिले कन्य, पाते जातको च्याउ उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।
मेहनत गर्न सकियो भने आम्दानी पनि सोचअनुसारको प्राप्त गर्दै जाने उनको अनुभव रहेको छ । आगामी दिनमा च्याउ खेती गरेका किसानलाई बजारीकरणमा सहयोग पु¥याउनका लागि सरकारी स्तरबाट पनि च्याउको महत्त्व र यसले स्वास्थ्यलाई दिने फाइदालगायतका बारेमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताए ।
आफ्नै देशमा कृषि व्यवसायमार्फत स्वरोजगार बन्नका लागि अनुदानसँगै बजारको ग्यारेन्टी स्थानीय सरकारले गरिदिएको भए अझै सहज हुने उनले बताए । अनुदान प्राप्त गर्ने वास्तविक किसानभन्दा पनि यहाँ बिचौलियाको बढी हाबी हुने हुँदा कृषक सधैँ मारमा पर्ने गरेको उनको अनुभव रहेको छ । उनले भने “पहिले देखी नै तरकारी खेती गरिहरेका थियौँ तर अनुदान भने कतैबाट पनि पाएको थिएन । यो वर्ष मात्रै कृषि ज्ञान केन्द्र डडेल्धुराबाट अनुदान पाएको हु ।”
आफ्नो च्याउ खेतीबाट राम्रो आम्दानीसँगै स्थानीय धेरै नागरिकले समेत रोजगार पाउन सफल भएको हुँदा भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने किसान अवस्थीको भनाइ रहेको छ ।
सुदूरपश्चिममा के छ च्याउ उत्पादनको अवस्था
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ३ लाख १ हजार २९१ केजी च्याउ उत्पादन भएको छ । प्रदेशभर सर्वाधिक च्याउ उत्पादन कैलालीमा भएको छ, जहाँ २ लाख ४८ हजार केजी च्याउ उत्पादन भएको छ ।
त्यसैगरी, दार्चुलामा १२ हजार केजी, अछाममा ९ हजार ६ सय ५१ केजी, डडेलधुरामा ९ हजार केजी, डोटीमा ८ हजार केजी, कञ्चनपुरमा ६ हजार २ सय ५० केजी, बाजुरामा ५ हजार ८सय ५० केजी, बैतडीमा १ हजार ५ सय४० केजी च्याउ उत्पादन भएको छ। सबैभन्दा कम च्याउ उत्पादन बझाङमा भएको छ, जहाँ जम्मा १ हजार केजी मात्र उत्पादन भएको छ।
