लवदेव धामी (विचार)
१६ वैशाख / नेपालको पछिल्लो शिक्षक आन्दोलनले नेपाली समाजको एउटा गहिरो यथार्थ उजागर गरेको छ — “धान खाने मुसो, चोट खाने भ्यागुतो” भन्ने उखान शब्दमै होइन, चरित्रमै सत्य भएको छ। शिक्षाको नाममा विगत लामो समयदेखि नीति निर्माण गर्ने, बजेट वितरण गर्ने र पदाधिकारी बन्नेहरूले शिक्षा क्षेत्रलाई आफ्नो लाभको माध्यम बनाउँदै आएका छन्। शिक्षामा सुधारका नाममा ठूला-ठूला परियोजनाहरू सञ्चालन गरिन्छन्, विदेशबाट सहयोग आउँछ, राज्यले अर्बौं रकम छुट्याउँछ, तर वास्तविक सुधार कहिल्यै पनि शिक्षकको जीवनमा देखिँदैन। न विद्यालयका भौतिक संरचना सुध्रन्छन्, न त सिकाइको गुणस्तरमा आमूल परिवर्तन आउँछ। बरु हरेक कमजोरीको दोष साधारण शिक्षकमाथि थोपारिन्छ। गाउँ–गाउँका प्राथमिक विद्यालयमा न्यून तलब, अभावग्रस्त सुविधा र राजनीतिक हस्तक्षेप सहँदै आएका शिक्षकहरू नै जब शिक्षा क्षेत्रको मूल आधार हुन् भन्ने बुझाइ हराउँदै जान्छ, तब उनीहरूको घाउ अझै गहिरो हुन्छ।
“अहिले आन्दोलनमा एक्यबद्धता जनाउनेहरुले पनि पटक पटक ठगेको छ । यसमा पनि शिक्षकहरुले चनाखो हुनैपर्छ ।”
आज शिक्षकहरूले उठाएका आवाजहरू केवल तलब, पदस्थापन वा सुरक्षाका लागि होइनन्; उनीहरू शिक्षामा इमानदारी, निष्ठा र योगदानको उचित मूल्याङ्कन खोजिरहेका छन्। स्थायी दरबन्दीको माग, राजनीतिबाट शिक्षण पेशालाई स्वतन्त्र बनाउने आग्रह, अस्थायी तथा करार शिक्षकको अधिकारको सुनिश्चितता र शिक्षण पेशालाई सम्मानित बनाउने मागहरू कुनै विलासिताका चाहना होइनन्, बरु शिक्षाको जग बचाइराख्न गरिएको अन्तिम प्रयास हुन्। यो आन्दोलन शिक्षकहरूका लागि केवल रोजगारीको प्रश्न होइन, आत्मसम्मान, पेशागत अस्तित्व र राष्ट्र निर्माणमा आफ्नो भूमिकाको रक्षा गर्ने लडाइँ हो।
“पार्टीका संगठनको सदस्यता लिएर चाकरी गर्नु शिक्षकहरुको ठुलो कमजोरी”
तर विडम्बना, अहिले पनि धान खाने मुसोहरू ठूला नेताहरू, पहुँचवालाहरू र शिक्षा क्षेत्रको ठेक्का जस्तै बुझ्ने केही सञ्जालहरू — पर्दा पछाडि लुकेर बसेका छन्। उनीहरूले सत्ताको खेलमै आफ्ना फाइदाहरू सुनिश्चित गरेका छन्, अनि आन्दोलनरत शिक्षकहरूलाई राजनीतिकरण गरेको आरोप लगाएर आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको छ। शिक्षामा सुधार ल्याउने सच्चा नायकहरू — ती साधारण शिक्षकहरू —लाई सडकमा उत्रन बाध्य बनाउने व्यवस्था आफैं लज्जास्पद छ। राज्यले शिक्षकहरूलाई सुन्नुको साटो दबाउने, तर्साउने र विभाजन गर्ने नीति अपनाउनु भविष्यका पुस्तामाथिको अपराध हो।
“आफ्ना छोराछोरीलाई आफैले पढाउने स्कुल अर्थात् सरकारी स्कुलमा पढाउन बाट पन्छिनुले कार्यकुशलतामा प्रश्न चिन्ह खडा हुन्छ।”
सरकारले सोच्नुपर्छ — यदि आज शिक्षकहरूको गरिमा ध्वस्त भयो भने, भोलि नेपालको शिक्षाले समुन्नति पाउने सपना केवल कल्पना बन्नेछ। एउटा असल शिक्षकले मात्र एउटा जिम्मेवार नागरिक तयार गर्न सक्छ; र जिम्मेवार नागरिककै बलमा राष्ट्र समृद्धि तर्फ अघि बढ्छ। जब शिक्षकहरूकै जीवन अभाव, अपमान र अन्यायले भरिन्छ, तब उनीहरूले प्रदान गर्ने शिक्षामा नै निराशा मिसिन्छ, र सिङ्गो पुस्ता निराश बन्छ।
यसैले, शिक्षक आन्दोलनलाई केवल विरोधको रुपमा हैन, चेतनाको आवाजका रुपमा सुन्न जरुरी छ। शिक्षकहरूले उठाएका मागहरू राष्ट्रको भविष्यप्रति चिन्तित भएर राखिएका मागहरू हुन्। धान खाने मुसोहरूलाई जिम्मेवार बनाई, शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र शिक्षक–मैत्री नीतिहरू लागू नगर्ने हो भने, शिक्षा प्रणाली अझै गम्भीर संकटमा फस्नेछ। सरकारले समयमै चनाखो भई सच्चा शिक्षकहरूको सम्मान र सुरक्षाका लागि ठोस कदम चाल्नुपर्छ। शिक्षालाई कुनै व्यापार वा राजनीति खेलको सामान होइन, मुलुकको समृद्धि निर्माण गर्ने पवित्र साधनको रुपमा हेर्न जरुरी भइसकेको छ।
अन्ततः, “धान खाने मुसो”हरूलाई पर्दा पछाडि राखेर “चोट खाने भ्यागुतो”हरूलाई नै सधैं दोष दिने परिपाटी अन्त्य नगरेसम्म नेपालको शिक्षाले न उज्यालो देख्न सक्छ, न त देशले नयाँ भविष्य सुरक्षित गर्न सक्छ। आज शिक्षकहरूले चिच्याइरहेका छन्, आन्दोलन गरिरहेका छन्, चेतावनी दिइरहेका छन् — यदि यिनको पीडा नसुनेर मात्र माथिल्लो तहका लाभार्थीहरूकै स्वार्थलाई जोगाइयो भने, त्यो दिन टाढा छैन, जब देश नै अन्धकारमा डुब्न पुग्नेछ। यसैले, अबको नीति–निर्माण शिक्षकको आँखाबाट हेरेर गरिनु पर्छ, न कि केवल मुसाको पेटबाट। शिक्षा बचाउनु भनेको देश बचाउनु हो ।