धनगढी/ सार्वजनिक यातायातमा सिण्डिकेट गैरकानुनी घोषित भएको भए पनि धनगढीदेखि भारतको व्याङ्ग्लोरसम्म बस सेवा सञ्चालन गर्दै आएको दुर्गा भवानी टुर एण्ड ट्राभल्स प्रा।ली निरन्तर अवरोधमा परेको छ।
सस्तो, सुरक्षित र सुविधासम्पन्न सेवा उपलब्ध गराउँदै आएको दुर्गा भवानीको लोकप्रियता बढेसँगै प्रतिस्पर्धी व्यवसायीहरूले संगठित अवरोध सिर्जना गरिरहेको कम्पनीका सञ्चालक दिपेन्द्र पुजाराले आरोप लगाए। उनका अनुसार भारतिय बस कम्पनीहरूसँग मिलेर दुर्गा भवानीका गाडी रोक्ने, यात्रुहरुलाई जबरजस्ती अन्य गाडी चढाउन दबाब दिने, टिकट काट्न अवरोध गर्ने र कर्मचारीहरूलाई धम्की दिने जस्ता गतिविधि बढेका छन्।
दुर्गा भवानीले अन्य कम्पनीको तुलनामा ७ सय भारतीय रुपैयाँ सस्तोमा सेवा दिँदै आएको छ। सेवा गुणस्तरीय र सहज बनाउँदा यात्रुहरूको आकर्षण बढेको कम्पनीको दाबी छ।
हालैका घटनाप्रति कम्पनीले सम्बन्धित सरकारी निकायहरूलाई ध्यानाकर्षण गराउँदै निष्पक्ष व्यवसायिक वातावरण र यात्रुको स्वतन्त्रता सुनिश्चित गर्न आग्रह गरेको छ। यातायात क्षेत्रमा सिण्डिकेट हटाउन कानुन भए पनि कार्यान्वयन कमजोर हुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन्।