नेपालगन्ज, वैशाख १५ / सार्वजनिक स्थलमा गोली पड्काउने चार जना युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपालगन्जका विभिन्न स्थानमा खुल्लमखुल्ला पेस्तोलबाट गोली चलाएर आतङ्क मच्चाउने चार जनालाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्ज एकका ४० वर्षीय विश्व विजय पोख्रेल, नेपालगन्ज १८ का ३० वर्षीय विशाल आउजी, नेपालगन्ज चारका २१ वर्षीय अस्मित मल्ल र २० वर्षीय सौगात श्रेष्ठ रहेको बताए ।
उनीहरूले गत शुक्रवार नेपालगन्ज १२ मा रहेको नमस्ते दोहरीबाट बाहिर निस्की साथमा बोकेको पेस्तोलबाट गोली पड्काई बा ४ च ३०७१ नम्बर को कारमा चढेर नेपालगन्ज १८ विशालनगर चोकमा भइरहेको नाइट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरूलाई आतङ्कित बनाउनुका साथै पेस्तोलबाट पुनः गोली पड्काई भागेको प्रहरी प्रवक्ता डिएसपी पातलीले बताए ।
उहाँले घटना भए लगत्तै पिछा गर्दै गएको प्रहरी टोलीले कोहलपुर १० हाई स्कुलबाट ती चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडी बढाइएको बताए ।