कञ्चनपुर १० बैशाख/कञ्चनपुरको बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ। बुधबार दिउँसो बेदकोट ताल नजिकैको जंगलमा अचेत अवस्थामा भेटिएका विष्टको उपचारका क्रममा निधन भएको हो। विष्टको बुधबार साँझ महाकाली अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा विष सेवन गरिएको खुलेको वताए । वडाध्यक्ष विष्टको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले वडाध्यक्षको निधनको कारणबारे अनुसन्धान भइरहेको बताए।
निधनको एक दिनअघि मात्रै वडाध्यक्ष विष्टले समाजिक सञ्जालमा हाँसोभित्रको पीडा भन्दै फेसबुक स्टाटस राखेका थिए। बिहान वडामा सामाजिक सुरक्षा(भत्ता वितरण गरेपछि उनी कामका लागि भन्दै मोटरसाइकलमा निस्किएका थिए। उनले वडासदस्य पार्वती विष्टलाई कावाको जिम्मेवारीसमेत दिएका थिए। नेपाली सेनाबाट सेवानिवृत विष्ट ०७४ मा वडासदस्य र ०७९ मा वडाध्यक्षमा विजयी भएका थिए।