धनगढी २८ चैत/डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । डोटीको सायल गाउँपालिका–६ को दल्लेखमा लहरी नागरीको घरमा चट्याङ परेर उनकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले चट्याङ लागेर नागरीको श्रीमतीको मृत्यु भएको र अन्य परिवारका सदस्यहरु घाइते भएको जानकारी दिए ।
उनकाअनुसार नागरीकी १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
यस्तै, बझाङको वित्थडचिर गाउँपालिका–३ मा पनि चट्याङ लागेर बृद्धको मृत्यु भएको छ । चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।