धनगढी,२८ चैत । कैलालीको अत्तरियामा अवस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ (नेविसंघ) प्यानल विजयी भएको छ। सभापतिमा नेविसंघका उम्मेदवार भुवन महरा ४४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी बम बहादुर विश्वकर्मा ९अखिल संयुक्त प्यानल०ले ३७८ मत ल्याए।
सभापतिमा विजयी महरा यसअघि पनि सभापति रहेका थिए, र यो उनका लागि दोस्रो कार्यकाल हो। सचिव पदमा नेविसंघकी उम्मेदवार ज्योति साहु ४७४ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी गणेशनाथ योगी (अखिल संयुक्त) ले ३२६ मत प्राप्त गरेका थिए। कोषाध्यक्षमा पनि नेविसंघकी सोनिया शाहले ४४५ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी दीपिका जोशीले ३५१ मत पाइन्। सदस्य पदमा समेत नेविसंघका उम्मेदवारहरू निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा कुल ८३१ मत खसेको थियो।