लवदेव धामी, धनगढी, २४ चैत / डडेल्धुराको परशुराम नगरपालिका वाड नं ७ मा पर्ने घुम्टेगाडा स्थित सिताराम सामुदायिक वन समितिले किर्ते हस्ताक्षर गरेर वनकटा सुरु गरेको छ। उपभोक्ता समितिको बैठकमा उपस्थितै नभएका उपभोक्ताहरुको समितिले उपभोक्तालाई जानकारी नदिई हस्ताक्षर गरेर सबडिभिजन वन कार्यालयबाट अनुमति लिएर घुम्टेगाडा वनभित्र रहेका ढलापडा काठ संकलन कार्य अगाडि बढाएको उपभोक्ता मिनबहादुर साउदले जानकारी दिए।
वनको महत्त्वपूर्ण निर्णयमा किर्ते हस्ताक्षर भएको जानकारी गराउँदा समेत सबडिभिजन वन कार्यालय सादनीका रेन्जर प्रेम शाहीको भने कुनै प्रतिक्रिया नआएको बताए। कानुन विपरीत भएको भन्दै आफूहरूले मौखिक जानकारी दिँदा समेत रेन्जर शाहीले सहमतिमै भएकाले खासै ठूलो कुरो नभएको भन्दै सामान्य रूपमा लिएको स्थानीयहरू बताउँछन्।
स्थानीय उपभोक्ता भने वन समितिले उपभोक्ताको अधिकार आफ्नो हातमा लिएर जानकारी नै नगरी कार्य सञ्चालन गरेको प्रति आपत्ति रहेको बताउछन्।
यता सीताराम घुम्टेगाडा सामुदायिक वनका अध्यक्ष महेन्द्रबहादुर सिंहले भने आफूहरुले घरपरिवारबाट हस्ताक्षर गराएको र सहमतिमै काम अगाडि बढाएको बताएका छन्। वन समितिले कुनै गैरकानुनी काम नगरेको समेत अध्यक्ष सिंहले दाबी गरेका छन् ।