धनगढी,२१ चैत / ऐश्वर्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस हाताभित्र वृक्षारोपण र सरसफाई गरेको छ। हालै निर्वाचित सभापति दीपकराज भट्टको नेतृत्वमा सम्पन्न कार्यक्रममा क्याम्पस परिसरलाई सफा र हराभरा बनाउने उद्देश्यले विभिन्न प्रकारका फुलका बिरुवा रोपिएको हो।
सभापति भट्टका अनुसार क्याम्पसको वातावरणलाई स्वच्छ राख्न तथा हरियाली प्रवर्द्धन गर्न वृक्षारोपण अभियान थालिएको हो। विद्यालय हाताभित्र फूलका बिरुवा तथा अन्य बिरुवाहरू रोपिएका छन्। “हामी बस्ने र अध्ययन गर्ने स्थान स्वच्छ, हरियाली र आकर्षक बनाउनुपर्छ भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौं,” भट्टले बताए।
स्ववियुको आयोजनामा भएको वृक्षारोपण तथा सरसफाई कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो। सहभागीले क्याम्पसको वातावरणलाई थप सुन्दर बनाउने अभियान निरन्तर सञ्चालन गरिने बताएका छन्।