धनगढी,१६ चैत / कैलारी गाउँपालिका–५, मनिकापुरमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
शनिबार दिउँसो बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी सवार नम्बर नखुलेको ट्याक्टर दुर्घटना भएको हो। प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार भारतको लखिमपुर खिरीका ११ वर्षीय आयुश बर्माको घटनास्थल नजिकै मृत्यु भएको हो। उनलाई घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा घाइते भएका १२ जनाको सेती प्रादेशिक अस्पताल र १५ जनाको धनगढीकै निसर्ग हस्पिटलमा उपचार भइरहेको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर, १२ जनाको मध्यम र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।