धनगढी,१२ चैत /जिल्ला अस्पताल बैतडीमा दैनिक स्वास्थ्य परीक्षण गर्न आउने एक सयमध्ये २० जना मानिसमा मधुमेह, उच्च रक्तचापलगायत नसर्ने दीर्घरोग भेटिन थालेको छ ।
स्वास्थ्य परीक्षणपछि चिकित्सकले स्वस्थकर खानपान गर्न भनेपछि परम्परागत मकै, कोदो, फापर, आटोको खोजी हुन थालेको छ । यति मात्रै होइन, खाना पकाउने भाँडा र पानी खाने वर्तनसमेत तामाका भाँडा अनिवार्य जस्तै बन्न थालेका छन् । जिल्ला अस्पताल बैतडीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को साउनदेखि फागुनसम्म स्वास्थ्य परीक्षण गर्न आएका ३१ हजार ३५० जनामध्ये सात हजारभन्दा बढी नसर्ने दीर्घरोगी फेला परेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरोल, दम, मुटु र मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । रोगका कारण अस्वस्थकर खानपिन र जीवनशैली मुख्य समस्या रहेको पाइएको छ ।” मधुमेह लागेका अधिकांश बिरामीले पछिल्लो समय चिनी खान छाडेका छन् । चिनीको बदलामा बरु घरेलु गुँड ९सखर० खोज्न थालेका छन् ।