धनगढी, ९ चैत /धनगढी उपमहानगरपालिकाको ऐश्वर्या विद्या निकेतनले आगामी शैक्षिक सत्रमा ३८ जना गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। उपमहानगरपालिकाका १९ वटै वडाबाट दुई–दुई जनालाई छात्रवृत्तिका लागि सिफारिस गर्ने व्यवस्था गरिएको छ ।
विद्यालयले गरिब, जेहेन्दार, दलित र एकल महिलाका बालबालिकालाई प्राथमिकता दिने ऐश्वर्या विद्या निकेतनका प्राचार्य सञ्जय पन्तले बताए । उनले १९ वटै वडाका वडा अध्यक्षलाई प्रत्येक वडाबाट २ जना विद्यार्थीलाई सिफारिस गरिदिन आग्रह गरेका छन् । “गरिब विद्यार्थीलाई सिफारिस गरे हामी पढाउनेछौँ,” उनले भने।माध्यमिक तहका शिक्षक राजेन्द्र प्रसाद भट्टले सार्वजनिक शैक्षिक गुठी भए पनि ऐश्वर्या विद्या निकेतनलाई निजी विद्यालय सरह व्यवहार गरिएको बताए । “यसलाई सार्वजनिक शैक्षिक गुठीको रूपमा व्यवस्था गरिएको भए विद्यार्थीले छात्रवृत्ति पाउन सक्थे,” उनले भने।
छात्रवृत्ति सम्झौता कार्यक्रम २०८१ अन्तर्गत आयोजित कार्यक्रममा विद्यालयले आगामी दिनमा छात्रवृत्तिको ३८ जना विद्यार्थीलाई छात्रवृत्ति दिने प्रतिबद्धता जनाएको छ ।विद्यालयका निमित्त प्राचार्य संजय कुमार पन्तले ऐश्वर्य विद्या निकेतनलाई अहिले पनि समाजले निजि विद्यालयकै रुपमा हेरेको भन्दै अब त्यो दृष्टिकोणमा परिवर्तन गरिनुपर्ने बताए ।
उनले ऐश्वर्य विद्या निकेतन धनगढीको मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशकै सम्पत्ति भएको हुँदा यसको श्रीवृद्धिका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरे । धनगढी उपमहानगरपालिकाका हरेक नागरिकले ऐश्वर्य मेरो विद्यालय हो भनेर गौरव गर्ने वातावरण बनोस भनेर नै सम्पूर्ण वडाका जनप्रतिनिधि वडाध्यक्षहरुसँग भेटघाट तथा सम्झौता कार्यक्रम आयोजना गरिएको बताएका छन ।
त्यस्तै विद्यालयका शिक्षक कमल राज जोशीले सुदूरपश्चिम प्रदेशको शैक्षिक उन्नयनका लागि कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य विद्या निकेतन सँगसँगै स्थापना भएर सँगसँगै अगाडी बढेपनि समाजले ऐश्वर्यलाई साँघुरो नजरबाट हेरेको भन्दै दुख व्यक्त गरे । जोशीले ऐश्वर्य समाजको सम्पत्ति भएकाले राजनीतिक आग्रह वा पूर्वाग्रह बिना नै ऐश्वर्यलाई सबैले सहयोग गर्न अपिल गरे ।
सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सन्तोष कुमारी शर्माले सुदूरपश्चिम प्रदेश भरीमै ठूलो विरासत बोकेको ऐश्वर्य विद्या निकेतनलाई सबैले सहयोग गर्नुपर्ने बताएकी छन ।ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समति सदस्य तथा वडा न ५ का अध्यक्ष गजेन्द्र बहादुर शाहीले धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनलाई कहिल्यै खुलेर सहयोग नगरेको बताए । उनले उपमहानगरपालिकाको गौरवको रुपमा रहेको ऐश्वर्य विद्या निकेतनलाई उपमहानगरपालिकाले प्रत्यक्ष सहयोग गर्नुपर्ने बताए । वडाध्यक्ष शाहीले नगरप्रमुख गोपाल हमालको स्वास्थ्य अवस्था ठिक हुने बित्तिक्कै १९ वटै वडाका वडाध्यक्ष गएर ऐश्वर्य विद्या निकेतनका बारेमा गम्भिर रुपमा छलफल गर्ने बताएका छन ।
ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समितिका अध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख नृप बहादुर वडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाकी सदस्य सन्तोष कुमारी शर्मा,ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट,१९ वटै वडाका वडाध्यक्षहरु,विद्यालयका विभिन्न विभागीय प्रमुखहरु,पत्रकार महासंघ कैलालीकी अध्यक्ष श्रवण देउवा लगायतको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक प्रतिनिधि राजेन्द्र भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक कमल राज जोशीले गरेका थिए ।