धनगढी,९ चैत । नवजीवन सहकारीले नवजीवन खाद्य उद्योग स्थापना गरी चामल उत्पादन सुरु गरेको छ। कैलालीको गोदावरी नगरपालिका–८, मजगाउँस्थित उद्योगले शनिबारदेखि चामल बिक्री वितरण सुरु गरेको हो। उद्योगले हालसम्म १६ हजार २८ क्विन्टल धान खरिद गरी १ हजार १८४ क्विन्टल धान कुटाइसकेको छ। जसबाट ६२९ क्विन्टल चामल उत्पादन भएको छ।
सहकारीका अध्यक्ष देव बहादुर बमका अनुसार चामल मोटो र मसिनो गरी दुई प्रकारमा बिक्री हुनेछ। मोटो चामलको मूल्य १४ सय र मसिनोको २२ सय तोकिएको छ। धानको मूल्यअनुसार चामलको दर घटबढ हुनसक्ने उनले बताए। पहिलो चरणमा नवजीवनका १० वटै सेवाकेन्द्रबाट चामल वितरण हुनेछ। सहकारी मन्त्रालयसँग समन्वय गरी सवारीको व्यवस्था र होम डेलिभरी पनि सुरु गरिनेछ।
बमका अनुसार नवजीवनले ३६ हजार शेयर सदस्यसहित आमजनतालाई शुद्ध तथा अर्ग्यानिक चामल उपलब्ध गराउने लक्ष्य राखेको छ। आगामी दिनमा पिठो, तेल र पानी उत्पादनको योजना समेत अघि बढाइने छ।
रानी जमरा सिँचाइ आयोजना सुरु भएपछि किसानलाई बिउ वितरणको योजना पनि रहेको बमले जानकारी दिए। २०५० सालमा स्थापना भएको नवजीवन सहकारीसँग ३१ करोड ३४ लाख रुपैयाँ शेयर पूँजी छ। सहकारीले ५ अर्ब ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। डेढ करोड लगानीमा सञ्चालन भएको यो उद्योगले कृषिमा रोजगार सिर्जनामा पनि टेवा पुर्याउनेछ।