धनगढी, ७ चैत / कैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन । बिहिबार लम्किचुहा नगरपालिका -४ कैवापुरमा रहेको सरस्वती माविका शिक्षक दीपक धमाला पक्राउ परेका हुन प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए।
प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। उक्त प्रश्नपत्र बिहान ९ः३५ बजे मोबाइलमा आएको खुलेको छ। ‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनले कसैलाई चिट चोराएको भने देखिएको छैन,’ प्रहरी निरीक्षक सिंहले भने। यस घटनाबारे परीक्षा समिति र सम्बन्धित निकायलाई जानकारी गराइएको छ। प्रहरीले अर्को एक व्यक्ति आफैं प्रहरी कार्यालयमा आएको भए पनि घटनामा उनको संलग्नता नदेखिएको जनाएको छ।