धनगढी, ७ चैत/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माण मात्र होइन, यसको उचित विनियोजन र प्रभावकारी कार्यान्वयन नै दिगो विकासको आधार हुने बताएका छन्।
बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि संघ सरकारसँग आवश्यक छलफल भइरहेको जानकारी गराए। उनले सुदूरपश्चिममा जलविद्युत् विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै संघ सरकारले ठोस योजना अघि बढाएमा प्रदेश सरकारले पूर्ण लगानीको वातावरण तयार पार्ने प्रतिबद्धता जनाए।
राष्ट्रिय योजना आयोगको आयोजनामा सम्पन्न दुई दिने अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र सहअस्तित्वको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। साथै, उनले सहकारिता र सहभागितामार्फत सुशासनलाई प्रभावकारी बनाउँदै दिगो विकासलाई गति दिनुपर्ने बताए।