यमुना साउद /धनगढी,७ चैत । डडेल्धुराको आलि ताल गाउँपालिका–२ तोलाका जयराज जैसी अचेल मौरीको चरन व्यवस्थापन गर्न र रेखदेख गर्न व्यस्त छन् । नौ वर्षअघि केही घारबाट मौरी पालन सुरु गरेका उनको हाल २८ घार मौरी रहेका छन् । उनले पहिले देखि परम्परागत रूपमा मौरी पालन गरेका उनी अहिले ९ वर्ष यता आधुनिक रूपमा मौरी पालनमा व्यस्त छन् ।
यस वर्ष मात्र जैसीले दुई पटक गरी करिब पाँच सय केजी मह उत्पादन गरेका छन् । उनले मह उत्पादनबाट वार्षिक पाँच लाख सम्म आम्दानी गर्दे आएका छन् । अहिले वसन्त ऋतु लागेसँगै फुलेको समय भएकाले चाँडो चाँडो मह तयार हुने उनको भनाइ छ । यसबाट जैसीले राम्रो आम्दानी गर्दै आएका छन् ।
स्थानीय बजारमा मह प्रतिकिलोग्राम (केजी) रु एक हजार देखि १२ सय सम्म बिक्री हुने गरेको छ । थोरै लगानी र थोरै श्रमबाट पनि राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरी पालन व्यवसाय उत्तम भएको उनको अनुभव छ । “धेरै लगानी गर्नु पनि नपर्ने, मेहनेत पनि थोरै गरे पुग्ने । आम्दानी राम्रो नै हुने रहेछ”, उनले भने, “मौरी पालन स्वास्थ्य र आम्दानी दुवै हिसाबले ठिक छ ।”
यस्तै कैलालीको गौरीगङ्गा–९ मसुरियाका मोहन खनाल समेत मौरी पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले १७ वर्षअघि एक घारबाट सुरु गर्नुभएकामा हाल दुई सय बिस घारमा मौरी पालिरहेका छन् । आफूले वर्षको सात टन मह उत्पादन गरी बिक्री गर्ने गरेको खनालले बताए ।
पहिले उनका बुवाले परम्परागत रूपमा थोरै मात्रमा मौरी पालन गरे पनि अहिले यसबाट मनग्ये आम्दानीले घर खर्च चलाउन सहज भइरहेको उनको भनाइ छ । बिक्रीका लागि बजार सुनिश्चित हुने हो भने थप मौरीको पालन गरी राम्रो आम्दानी लिन सकिने उनले बताए । बाहिर लगेर मौरीको चरन व्यवस्थापन गर्न सके राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ । अहिले आधुनिक रूपमा मौरिपालनबाट वार्षिक खर्च कटाएर १२ लाख सम्म आम्दानी गरिरहेका छन् ।
तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य समयमा भने चरनका लागि समेत समस्या हुने गरेको उन भनाइ छ । तोरीको मह जम्ने विषय उपभोक्ताको बुझाइमा फरक पर्दासमेत केही समस्या भएको उनको भनाइ छ । तोरी, चिउरीको मह जम्ने र जमेको मह शुद्ध हुने जानकारहरू बताउँछन् । अहिले भारत लगायत मुलुक बाट मह आउने भएका कारण मह बिक्रीमा समस्या भएको उनले बताए ।
सुदूरमा बर्सेनि मह उत्पादन बढ्दै
सुदूरपश्चिम प्रदेशमा माहुरी पालनमा आकर्षण बढेसँगै मह उत्पादनमा पनि वृद्धि भएको छ । सुदूरपश्चिममा आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ७२ हजार ४ सय २० केजी मह उत्पादन भएको थियो भने आ.व. ०७९/०८० मा त्यो सङ्ख्या २७ हजार ६ सय ५० केजीले बढेर ३ लाख ७० केजी उत्पादन भयो । आ.व.०८०/०८१मा अझै १६ हजार ६ सय ७५ केजीले बढेर तिन लाख १६ हजार सात सय ४५ पुगेको छ ।
डडेल्धुरामा सबै भन्दा बढी
डडेलधुराले सुदूरपश्चिम प्रदेशभरि सबैभन्दा धेरै मह उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा डडेलधुरामा ८६ हजार २ सय ५० केजी मह उत्पादन भएको छ। कैलालीमा ८३ हजार केजी, दार्चुलामा ६० हजार केजी, डोटीमा २१ हजार ३ सय४४ केजी, बाजुरामा १९ हजार ८सय ७८ केजी, बैतडीमा १९ हजार ८ सय केजी, अछाममा १६ हजार ३ सय ४८ केजी, बझाङमा ९ हजार केजी र कञ्चनपुरमा १ हजार १सय २५ केजी मह उत्पादन भएको छ ।
पछिल्लो समय मौरी पालनतर्फ किसानहरूको आकर्षण बढ्दै गएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टेकेन्द्र कुस्मीले बताए । उनी भन्छन्, “मौरी पालन केवल व्यवसाय मात्रै होइन, यो प्रकृति, परिश्रम र आम्दानीको अद्भुत संगम हो । किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउन मौरी पालनले ठुलो भूमिका खेल्न सक्छ । त्यसैले, सरकारले यो क्षेत्रलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरू अघि सारेको छ ।”
मौरी पालक किसानहरूलाई सहयोग गर्न मन्त्रालयले गोला सहितका घार प्रदान गर्ने, केही स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिने, र आधुनिक प्रविधि अपनाउन तालिमको व्यवस्था गर्ने जस्ता कार्यक्रमहरू ल्याएको उनले बताए ।
“मौरी पालनले किसानहरूलाई कम लगानीमा राम्रो प्रतिफल दिने सम्भावना देखिएको छ । तर, चरनको अभाव, सस्तो आयातित महको प्रभाव, बजार व्यवस्थापनमा चुनौती, र उपभोक्ताहरूको बुझाइमा रहेका भ्रमले किसानहरूलाई समस्या बनाइरहेको छ । यस्ता समस्याहरू समाधान गर्न राज्यको भूमिका अझ सशक्त हुनुपर्छ ।” उनले थपे । डडेलधुराका किसानहरूले उत्पादन वृद्धि भए पनि महको बजारीकरणमा समस्या रहेको बताए ।