यमुना साउद /धनगढी,४ चैत । सुदूरपश्चिममा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीहरूको सङ्ख्या वृद्धि भएको छ। शिक्षा विकास निर्देशनालयका अनुसार गत वर्ष ५५ हजार १० जनाले परीक्षा दिएका थिए भने यस वर्ष ५८ हजार ९ सय४३ जना सहभागी हुने भएका छन्।
प्रदेशभर परीक्षार्थीको सङ्ख्या वृद्धि भए पनि कैलालीमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । गत वर्ष १८ हजार ७ सय २० विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने यो वर्ष १९ हजार ८ सय ४८ जना विद्यार्थी परीक्षा दिने भएका छन् । त्यसै गरी, कञ्चनपुरमा पनि सोही अनुरूप वृद्धि भएको छ । अघिल्लो वर्ष १० हजार ३३५ जनाले परीक्षा दिएका थिए भने यो वर्ष परीक्षार्थीको सङ्ख्या ११ हजार ३०१ पुगेको छ।
यसै गरी, बैतडी, अछाम, बझाङ, डोटी, दार्चुला, बाजुरा र डडेलधुरामा पनि परीक्षार्थीको सङ्ख्या वृद्धि भएको छ । डोटीमा सबैभन्दा धेरै प्रतिशत वृद्धिदर देखिएको छ । अघिल्लो वर्ष ३ हजार २सय ९७ जना सहभागी भएकोमा यो वर्ष ४ हजार ६२ जना परीक्षा दिने भएका छन्।
पछिल्ला वर्षहरूमा शिक्षामा लगानी बढ्दै गएको छ । छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, तथा स्थानीय तहको सक्रियताका कारण विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्न सकिएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्ण बोहराले बताए । विशेष गरी ग्रामीण क्षेत्रमा विद्यालय छाड्ने प्रवृत्ति केही हदसम्म कम हुँदै गएको देखिएको छ ।
परीक्षा चैत सात गतेबाट सञ्चालन हुने भएको छ । परीक्षा सहज बनाउन तयारी तीव्र पारिएको छ । प्रश्न पत्र व्यवस्थापनदेखि केन्द्र तोक्ने कार्यसम्मका कार्य भइसकेका छन् ।