धनगढी, १० मार्च – धनगढीमा आयोजित दुईदिने हिमालयन एजुकेशन फेयर २०२५ मा एसडिजिआइ ग्योवल युनिभर्सिटीले उत्साहजनक सहभागिता जनाएको छ। मेलामा विद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उच्च शिक्षा, करियर योजना, र विश्वविद्यालयका सुविधाबारे जानकारी गराए।
शिक्षा मेलामा स्कूल अफ होटल म्यानेजमेन्ट एण्ड टुरिज्मका निर्देशक डा. हरवीर र आउटरीच एडमिशनका निर्देशक श्री देवेश भटनागर विशेष रूपमा उपस्थित थिए। उनीहरूले करिब १००० देखि १५०० विद्यार्थीहरूलाई करियर सम्बन्धी परामर्श दिएका थिए । सहभागी विद्यार्थीहरू हाल कक्षा १२ को परीक्षाको तयारीमा छन्, जुन आगामी २४ अप्रिलदेखि ७ मेसम्म सञ्चालन हुने छ।
शिक्षा मेलाले विद्यार्थीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ। धनगढीबाट ३५९ किलोमिटर टाढा रहेको एसडिजि आइ ग्योवल युनिभर्सिटीका विद्यार्थीहरूका लागि आकर्षक गन्तव्यका रूपमा देखिएको छ । विश्वविद्यालयका अधिकारीहरूले सञ्चालन गरेका परामर्श सत्रहरू प्रभावकारी बनेका थिए। विद्यार्थीहरू विशेष गरी पाठ्यक्रम संरचना, चार वर्षीय अध्ययन कार्यक्रम, किफायती शुल्क व्यवस्था, र छात्रावास सुविधाहरूमा रुचि राखेको देखिएको छ।
विशेषगरी छात्राहरू होटल म्यानेजमेन्ट र टुरिज्म क्षेत्रमा करियर बनाउने विषयमा बढी उत्साहित देखिएका थिए । छात्रहरू पनि यस क्षेत्रमा उपलब्ध अवसरहरूप्रति आकर्षित भएका थिए। मेलामा सहभागी विद्यार्थीहरूमध्ये धेरैले विश्वविद्यालयको प्रवेश प्रक्रियामा चासो देखाएका छन्।
यस सहभागिताले एसडिजिआइ ग्योवल युनिभर्सिटीलाई नेपाली विद्यार्थीहरूसँग अझ नजिक बनाएको छ। विश्वविद्यालयले आगामी दिनमा पनि यस्ता शैक्षिक मेलाहरूमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएको छ।