धनगढी , १२ माघ / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ स्थित बिएमआइ इट्टा उद्योगबाट १४ जना भारतीय कामदारको उद्धार गरिएको छ । इटा उद्योग सन्चालकले भारतीय कामदारहरुलाई घर जान नदिएर बन्दी बनाएको बारे समाचार सार्वजनिक भएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गरी उनीहरुको उद्दार गरेको जनाइएको छ ।
टीकापुर इलाका प्रहरी कार्यालयको टोलीले सो इटा उद्योगबाट ८ बालबालिका सहित चार पुरुष र दुई भारतीय महिलाहरूलाई उद्धार गरेर भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको जनाइएको छ ।
विएमआई ईट्टा उद्योग सञ्चालकले भारतीय कामदारहरुलाई घर जान नदिएको भन्दै भारतीय प्रहरी निकायमा उजुरी परेको बताइएको थियो । भारतीय सुरक्षा निकायले कैलाली जिल्ला प्रशासन कार्यालयलाई उद्धारका लागि आग्रह गरेको थियो ।
इटा उद्योग सन्चालक बिष्टले कामदारहरु ल्याउने भारतीय ८० हजार रुपैयाँ लिएर फरार भएकोले कामदारहरुलाई रोकेको दाबी गर्दै आउनु भएको छ ।