धनगढी, ११ माघ । भूमि समस्या समाधान आयोग कैलालीका अध्यक्ष यक्षराज उपाध्यायको पदबहाली तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यायले कैलाली जिल्लामा विद्यमान अधुरा रहेका भूमि सम्बन्धी सबै समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले दुई ठूला राजनीतिक दलहरूको सहकार्यमा भूमि समस्या समाधान गर्ने नयाँ अध्यादेश आएकाले अब समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे।
उपाध्यायले पार्टी र गठबन्धनले दिएको जिम्मेवारी इमानदारिता र समर्पणका साथ पूरा गर्ने बताउँदै, आफ्नो नेतृत्वको आयोगले एक हप्ताभित्रै पूर्णता पाउने जानकारी दिए। उनले आफ्नो पहिलो कार्यकालमा धेरै उपलब्धिमूलक कार्यहरू सम्पन्न भएको चर्चा गर्दै, बाँकी रहेका कामहरूलाई समयमै पूरा गर्न कटिबद्ध रहेको बताए।
पदबहाली तथा स्वागत कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्य मान बहादुर रावल, प्रदेश सभा सदस्य विक्रम धामी, एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगाना, र कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन प्रसाद हमालको उपस्थिति रहेको थियो।
अध्यक्ष उपाध्यायले भूमि समस्या समाधानका लागि आयोगको कार्यलाई प्रभावकारी बनाउने तथा नीतिगत, व्यवस्थापकीय र जनसहभागिता सुनिश्चित गर्दै समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए।